Aamsanchar

विराटनगरको अवस्था सामान्य बन्दै

Author Image
मङ्गलवार, चैत १४, २०७९

विराटनगर : पहिचान पक्षधरको प्रदर्शनपछि सुरक्षाकर्मीसँग झडप हुँदा तनावग्रस्त बनेको विराटनगरको अवस्था सामान्य बन्दै गएको छ।

प्रदर्शनकारीले प्रहार गरेको ढुंगा र इँटाले लागेर नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)सहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन्।

घाइते हुनेमध्ये १२ जना नेपाल र ३ जना सशस्त्र प्रहरी छन्। नेपाल प्रहरीतर्फ वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर (प्रहरी निरीक्षक) रोहित शर्मासहित १२ जना घाइते भएका हुन्।

सशस्त्र प्रहरीतर्फ १ जना नायव निरीक्षक र २ जना जवान घाइते भएका छन्। घाइतेको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

झडपमा परेर नेपाल र सशस्त्र प्रहरी गरेर १५ जना सुरक्षाकर्मी घाइते भएको उनले बताए। ‘घाइतेमध्ये १ जनाको अवस्था अलि गम्भीर छ। अरुको अवस्था सामान्य छ,’ उनले भने, ‘घाइते सुरक्षाकर्मीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीको ढुंगा लागेर सुरक्षाकर्मी घाइते भएका हुन्।’

प्रदर्शनका क्रममा उत्तेजित हुँदै आन्दोलनकारी आक्रामक बनेर सुरक्षाकर्मीमाथि जाइलागेको दाहालले बताए। ‘आन्दोलनकारीले ढुंगा र इँटाले प्रहार गरे। तर, सुरक्षाकर्मीबाट लाट्ठी चार्ज भएको छैन,’ उनले भने, ‘संयमित भएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरियो। उत्तेजित भीडलाई तितरवितर बनाउन भने अश्रुग्यास प्रहार र हवाईफायर गर्नुपर्ने अवस्था आयो।’

आन्दोलनकारी उत्तेजित भए पनि सुरक्षाकर्मीको संयमताकै कारण ठूलो क्षति हुन नपाएको डीएसपी दाहालको भनाइ छ।

उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीबाट १३ सेल अश्रुग्यास र १७ राउण्ड हवाईफायर भएको छ। सशस्त्रले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो।

लगभग डेढ घण्टाजति प्रदर्शन गरेपछि कोणसभा गरेर आन्दोलनकारी फर्किएका छन्। गाडी चढेर प्रदर्शनका लागि उनीहरु विराटनगर आएका थिए।

प्रदर्शन र कोणसभा सकेर आन्दोलनकारी गाडीमै फर्किएपछि विराटनगरको अवस्था सामान्य बन्दै गएको डीएसपी दाहालले बताए।

पहिचान पक्षधरले दिउँसो लगभग १ बजेदेखि प्रदेश राजधानी विराटनगरको पाञ्चालीनजिकबाट प्रदर्शन सुरु गरेका थिए। लगत्तै प्रहरीमाथि ढुंगामुडा सुरु भएको थियो। त्यसपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भयो। लगभग डेढ घण्टा त्यो क्रम चल्यो।

कोणसभा गरेर पहिचान पक्षधर नेताले आफ्ना कुरा राखिसकेपछि आन्दोलनकारी विराटनगरबाट फर्किएका हुन्।

पहिचान पक्षधरले गरेको प्रदर्शन नियन्त्रणमा लिने क्रममा भएको झडपमा परेर आन्दोलनकारीतर्फ कति घाइते भए भन्ने यकिन छैन। तर, कोणसभाका क्रममा नेताहरुले ९ जनाजति प्रदर्शनकारी घाइते भएको बताएका छन्। प्रहरीका अनुसार घाइते भएको भनिएका प्रदर्शनकारी उपचारका लागि अस्पताल पुगेका छैनन्।

प्रदेश १ को नाम कोसी राखिएपछि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्ने र कोसी खारेज हुनुपर्ने मागसहित पहिचानवादी आन्दोलित छन्। आन्दोलनकारीले विराटनगरको बिग होटलको कफी सपमा तोडफोडसमेत गरेका छन्।

शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बनाउन आन्दोलनकारीले नै भूमिका खेलेको प्रहरीका एक अधिकारी बताउँछन्।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

कोसी नाम खारेज हुनुपर्ने, मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने, पहिचानवादी एक हुनुपर्ने लगायतका माग पहिचान पक्षधरको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रदर्शनस्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गरिएको छ। प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नामकरण गरेर कोसी नाम राखेको थियो।

नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरमा प्रदर्शन भयो। त्यस क्रममा पहिचान पक्षधर पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको थियो।

आन्दोलनकारीकै लाट्ठी प्रहारबाट उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सार्वजनिक भएको एउटा भिडियोमा पनि लिम्बूको टाउकोमा आन्दोलनकारीकै लाट्ठी बज्रिएको देख्न सकिन्छ।

तर, पहिचानवादी समूहले भने आन्दोलन चर्काउन, शान्ति सुरक्षाको अवस्था भड्काउन र आन्दोलनरत सबैको सहानुभूति बटुल्न प्रहरीको कुटाइले मृत्यु भएको दाबी गरिरहेको सुरक्षा स्रोतले बतायो।

सुरुमा आन्दोलनकारीले घाइते लिम्बूका बारेमा सार्वजनिक गरेका थिएनन्। चैत ८ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका उनको चैत १० गते बिहान मृत्यु भएको थियो। आन्दोलनरत पक्षले प्रतिष्ठानमै रहेको शव बुझ्न अस्वीकार गरिरहेको छ।

माग पूरा नभएसम्म शव नबुझ्ने अडानमा पहिचान पक्षधर छन्। कोसी प्रदेश सरकारले मृतक लिम्बूको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय सोमबार गरिसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)