Aamsanchar

खाेटाङ : वनमा डढेलोले पाइप जल्दा ४ घर पिउने पानीबाट वञ्चित

Author Image
बुधवार, चैत १५, २०७९

खोटाङ – सामुदायिक जंगलमा लागेको डढेलोले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा खानेपानीको पाइप जलेको छ ।

स्थानीय चौतारा सामुदायिक वनमा चैत १३ गतेदेखि सुरु भएको डढेलोले तीनसल्लेबाट जयभद्रे लगिएको भालुखोला खानेपानीको करिब एक हजार आठ सय मिटर पाइप जलेको हो । चुनिया पानी भएकाले बेला–बेला टकटकाउनका लागि जमिन बाहिरै राखिएको पाइप डढेलोले नष्ट भएको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । उहाँका अनुसार पाइप जलेपछि मयभद्रेका चार घर पिउने पानीबाट वञ्चित भएका छन् । राति डढेलो नियन्त्रणका क्रममा आगोको ज्वालाले भेट्दा रिचकुमार कार्की घाइते भएको वडाध्यक्ष राईले बताउनुभयो ।

यस्तै डढेलोले मंगलबार धितुङको हात्तीआहालमा बस्न छाडिएको रित्तो घर पनि जलेको छ । चौतारा सामुदायीक वनमा फैलिएको डढेलोले रातेखोलाका १७, चिचिराका ११, तीनसल्लेका ८, हात्तीआहालका ७ र जयभद्रेका ४ घर जोखिममा परेका छन् । स्थानीय र प्रहरीले मंगलबार राति १ बजेसम्म डढेलो नियन्त्रण गर्ने प्रयास गरेका थिए । सुनकोसी नदी किनारबाट बस्तीतिर डढेलो फैलिएको हो ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महाङकला सामुदायिक वन, फुस्रेकाला पहरा सामुदायिक वन, भालुढुंगा सामुदायिक वन, देब्रोघारी सार्केटार सामुदायिक वन, असोजे सामुदायिक वन र नमुना सामुदायिक वनमा चैत ११ गतेदेखि डढेलो लागिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर