


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मुस्ताङले जोनमा सूचीकृत कृषि फार्म,समूह र सहकारीलाई हाते ट्याक्टर अनुदानमा दिएको हो।
चालु आर्थिक वर्ष २०७९/०८० मा विनियोजित १८ लाख बजेटमध्येबाट जिल्लाका १२ वटा कृषि फार्म, समूह र सहकारी संस्थालाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको परियोजना इकाईले जनाएको छ।
परियोजनाका अनुसार जिल्लाका कृषकले पाउने उपकरण खरिदको अनुदान सुविधा नदोहोरिने गरी हाते ट्याक्टर कृषक समूह, फार्म र सहकारी कृषकलाई उपलब्ध गराएको हो।

मागका आधारमा दिइने यसप्रकार अनुदान सुविधामा दर्जनौं कृषक संस्थाले उपकरण खरिदका लागि परियोजना इकाईमा आवेदन दिएका थिए।
यसअघि अनुदान सुविधा नलिइएकामध्येबाट घरपझोङ गाउँपालिकामा ७ थान, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ३ थान र थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा समान १/१ थान हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना इकाईका कृषि अधिकृत नेत्रप्रसाद भट्टले जानकारी दिए।
परियोजनाले अनुदानमा उपलब्ध गराएको हाते ट्याक्टर मध्ये ८ वटा डिजेलबाट चल्ने र ४ वटा पेट्रोलबाट चल्ने हाते ट्याक्टर रहेको छ। डिजेलबाट चल्नेको १ लाख २० हजार र पेट्रोलबाट चल्ने हाते ट्याक्टरको प्रति मुल्य ८० हजार पर्छ।
जिल्लाका कृषि फार्म, समूह र सहकारी गरी ९० वटा संस्थालाई खेत जोत्ने हाते ट्याक्टर वितरण भइसकेको र अन्य १४७ वटा कृषि उपकरण वितरण गर्ने तयारी भइरहेको कृषि अधिकृत भट्टको भनाइ छ।
इकाईले अनुदान माग गरी छनौट भएका फार्म, समूह र सहकारीलाई स्याउ टिप्ने र काँटछाँट गर्ने भर्याङ १९ थान, घाँस काट्ने ब्रस कटर ३१ थान, पावर स्प्रे ४० थान, डिजिटल तराजु १८ थान, हाँगाबिगा काँट्ने कैची १४ थान, मोटर स्प्रे ३ थान, सिकेचर करौती ९ थान र फुड ड्राई मेशिन १ थान ५० प्रतिशत अनुदानमा वितरण गरिने कृषि अधिकृत भट्टले बताए।
बर्सेनि यहाँका कृषि फार्म, सहकारी, समूह र प्रालि दर्ता गरेका कृषकलाई स्थानीय तह, कृषि ज्ञान केन्द्र र परियोजना कार्यान्वयन इकाईले अनुदानमा कृषि उपकरण खरिदमा अनुदान दिने गरेको छ।
कृषि यान्त्रिकीकरण उपकरणमा अनुदान पाएपछि जिल्लाका कृषकलाई कृषि कर्म गर्न सहज भएको मार्फाका कृषक दिपक लालचनले जानकारी दिए।