


धनगढी : दार्चुलास्थित शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा एक करोड हिनामिनाको आरोप लागेको छ।
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ। कृषि औजार खरिद कार्यक्रम अन्तर्गत नगरपालिकाका प्रमुख विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी एक करोड हिनामिना गरेको भन्दै उजुरी परेको हो।
संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि एक करोड रुपैयाँ आएकोमा औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा टेण्डर नगरी, औजार पनि खरिद नगरेर रकम स्वाहा पारिएको भन्दै अख्तियारमा उजुरी परेको हो। कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि कार्यालयले नगरपालिकासँग थप कागजात माग गरेको छ।

‘सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपि स्पष्ट राय, प्रतिक्रियासहित पत्र प्राप्त भएको मितिले १५ दिनभित्र कार्यालयमा आइपुग्ने गरी पठाउन’, अख्तियारले नगरपालिकासँग भनेको छ। कृषि औजार खरिद प्रक्रियासँग सम्बन्धित स्पेसिफिकेसन लागत अनुमान, सिलबन्दी दरभाउ, कोटेसन दाखिला प्रतिवेदन र किसानलाई वितरण गरेको भर्पाइ पठाउन पनि भनिएको छ।
यस्तै शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वर माविको एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको गुरुयोजना, लागत अनुमान, कार्य सम्पन्न भएको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, निर्माण सम्पन्न भएको भनी विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय, भौचर, बिल भर्पाइलगायत पनि दिन अख्तियारले नगरपालिकालाई पत्राचार गरेको छ।
यस्तै शैल्यशिखर नगरपालिका—३ स्थित लटिनाथ मावि दर्माको ३८ लाख २९ हजार रुपैयाँ लागतको भवन निमार्ण कार्यक्रमको सम्झौता, लागत अनुमान, नापी किताबलगायत पनि पठाउन अख्तियारले पत्राचार गरेको छ।
यसैगरी २०७९ वैशाख देखि ०७९ असार मसान्तसम्म नियुक्त भएका करार कर्मचारी तथा ज्यालादारीबारे सम्बन्धी सम्पूर्ण कागजपत्र पनि पठाउन भनेको छ। २०७९ साल असार महिनाभर कार्यालयको चिया तथा पानीमा भएको खर्च विवरण पनि आयोगले माग गरेको छ।