


गोरखा – नेपाली सेनाले ऐतिहासिक गोरखा दरबारदेखि बुटवलको जितगढीसम्म पदयात्रा थालेको छ । पृथ्वी जयन्तीको अवसर पारेर २०७५ सालदेखि गोरखा दरबारबाट काठमाण्डौसम्म एकीकरण पदयात्रा गर्दै आएको सेनाले पश्चिमतर्फ बुटवलको जितगढीसम्म पनि पदयात्रा गरेको हो ।
विक्रम संवत् १८७२ मा तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा सेनाले जितगढी किल्लामा अंग्रेजसँग युद्ध गरेको थियो । त्यस युद्धमा पाल्पाली सेनाले अंग्रेज सेनालाई परास्त गरि विजय हासिल गरेको इतिहासका जानकारहरु बताउँछन् । जितगढीमा भएको विक्रम संवत् १८७२ वैशाख ७ गतेको लडाईंमा नेपालको सेनासँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ ।
अंग्रेजलाई पराजित गरेको दिनको स्मरण गर्दै बुटवल उपमहानगरपालिकाले बैशाख ७ गतेलाई जितगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ । सोही दिन बुटवल पुग्ने गरि गोरखाबाट यात्रा शुरु गरिएको गोरखामा रहेकाे नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताउनुभयो । नेपाल एकीकरणको उद्गम थलो गोरखा र अर्को ऐतिहासिक स्थल जितगढीलाई जोड्ने गरि पदयात्रा गरिएको उहाँले जानकारी दिनुभयो ।

गोरखा दरबारबाट शुरु भएको पदयात्रा गोरखाको छेवेटार, बिर्दी, शेरा, पौवाटार, सतिघाट हुँदै तनहुँ पुग्नेछ । तनहुँबाट स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पदयात्रा जीतपुरगढी पुग्नेछ । गोरखामा पदमार्गमा पर्ने गोरखा नगरपालिका र पालुङटार नगरपालिका तथा अन्य जिल्लाका पालिकाहरुको सहकार्यमा पदयात्रा गरिने गणपति बिष्टले जानकारी दिनुभयो ।
यात्रामा सहभागी नेपाली सेनाको टोलीलाई झण्डा हस्तान्तरण गर्दै नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापती दिपककुमार बानियाँले ऐतिहासिक एवम् पुरातात्विक स्थलहरू संरक्षण र प्रवर्द्धनमा यो पदयात्राले सहयोग पुग्ने बताउनुभयो । त्यस्ता सम्पदाहरूको संरक्षणमा सेनाले स्थानीय सरकारसङ्ग सहकार्य गर्दै आएको उहाँको भनाई छ ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल पत्रकार महासङ्घ गोरखाका अध्यक्ष नरहरि सापकोटाले एकीकरण पदयात्रालाई आम जीवनसङ्ग जोड्नुपर्ने बताउनुभयो ।