


काठमाडौं – काठमाडौंमा एक स्टाफ नर्सको शव फेलापरेको छ ।
वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमापिया श्रेष्ठ मृत फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
काठमाडौं महानगरपालिका–१६, बोहोराटारस्थित एउटा घरमा श्रेष्ठको शव भेटिएको हो । उक्त घर विराटनगरस्थित कोसी अस्पतालका चिकित्सक सुजन ढकालको भएको एसपी रिजालले बताए ।

श्रेष्ठ शनिबार (हिजो) अपराह्न करिब ४ बजे उक्त घरमा झुन्डिएको अवस्थामा मृत फेलापरेकी हुन् । उनको शव अझै (आइतबार दिउँसो करिब साढे १ बजे दिएको जानकारी) घटनास्थलमै रहेको एसपी रिजालले जानकारी दिए ।
शव त्यहीँ छ । अनुसन्धान हुँदै छ । प्रहरी वृत्त बालाजुबाट डीएसपी घटनास्थलमा खटिनुभएको छ,” उनले भने ।
उनका अनुसार थप विषय खुल्न बाँकी छ । श्रेष्ठ किन र कसरी ढकालको घरमा पुगिन् भन्ने अनुसन्धान हुँदै छ । उनीहरूबीचको चिनजान, सम्बन्धका बारेमा पनि स्पष्ट भइनसकेको उनले बताए ।
“अहिले केही थाहा भइसकेको छैन । अनुसन्धानबाट सबै कुरा थाहा होला,” उनले भने, “घटनास्थलमा अनुसन्धान अघि बढाएका छौँ ।”
उनका अनुसार श्रेष्ठको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिनेछ ।