


धादिङ : धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको पुल सोमबार दिउँसो भासिँदा राजमार्ग अवरुद्ध भएको छ।
दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसीपट्टिको भाग भासिएको थियो। दिउँसो केही समय एकतर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माण थालेको थियो। नयाँ पुल निर्माणका लागि पुलछेउमा केही समयदेखि खनिएको थियो।

राजमार्ग अवरुद्ध भएपछि साना सवारीलाई कच्ची सडक प्रयोग गरी आवातजावत गर्न दिइएको छ। ठूला सवारी भने सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताए।
सहजताअनुसार हेटौँडा-काठमाडौं र काठमाडौं-नुवाकोट-गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।