


बैतडी – पाँच दिनअघि बैतडीको पाटनमा भेट्टिएको मानिसको टाउको कसको हो भन्ने अझै पहिचान हुन सकेको छैन। गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लोबजारमा ल्याएको गिट्टीको थुप्रोमा भेटिएको मानिसको टाउको कसको हो भन्ने खुल्न नसकेको हो।
उक्त टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइए पनि अझै रिपोर्ट नआएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो। उनले भने, ‘टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका हौं। रिपोर्ट आउन अझै एक दुई दिन लाग्ने भनेको छ। अस्पतालको रिपोर्टपछि उक्त टाउको महिलाको हो कि पुरुषको भन्ने खुल्छ।’

साथै अस्पतालको रिपोर्ट आए पनि टाउकोको डीएनए परीक्षण पनि गरिने जनाइएको छ। डीएनए परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइने प्रहरी निरीक्षक जोशीले बताए। उनले भने, ‘अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमुना पनि संकलन गर्ने र परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउछौं।’
अस्पतालको रिपोर्टसँगै अन्त्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए।
उनले भने, ‘बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ। गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर समेत हेरिएको छ तर हालसम्म कुनै पत्ता लागेको छैन।’