Aamsanchar

काठमाण्डौमा गोलभेँडाको भाउ बढ्याे

Author Image
शुक्रवार, वैशाख २२, २०८०

काठमाण्डाै – बिहे व्रतबन्धका कारण काठमाण्डौमा गोलभेँडाको भाउ बढेको छ ।

माग अनुसार गोलभेँडाको आयात नहुँदा भाउ बढेको काठमाण्डौको मुख्य  थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अघिल्लो हप्ता थोक बजार कालीमाटीमा किलोको १५ देखि २० रुपैयाँसम्म कारोबार भएको गोलभेँडा अहिले किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य छ ।

समितिका उपनिर्देशक एवं सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्ता गोलभेँडाको माग निकै बढेको छ । दैनिक भान्छामा अचार र तरकारीमा समेत प्रयोग हुने भएकाले अन्य तरकारी भन्दा  गोलभेँडाको धेरै कारोबार हुने गर्छ । होटल रेष्टुरेन्टमा पनि गोलभेँडाको माग धेरै हुन्छ । यो हप्तादेखि विवाह र व्रतबन्धको लगन समेत सुरु हुन थालेकाले गोलभेँडाको माग बढेको श्रेष्ठले बताउनुभयो ।

स्वदेशी उत्पादनले अहिले माग धानेको छैन । अहिले भारतबाट पनि गोलभेँडाको आयात नबढेकाले भाउ बढेको समितिका उपनिर्देशक एवम् सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ७० देखि ८० टन गोलभेँडाको कारोबार हुने गरेको छ ।

काठमाण्डौ उपत्यकासँगै, धादिङ, काभ्रे, चितवन, सर्लाहीलगायत ठाउँबाट गोलभेँडा भित्रिने गरेको छ । यस्तै, पहिले पहिले भारतबाट धेरै भित्रिने गरेकोमा अहिले अनुपात घटेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर