Aamsanchar

मोरङमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, नेताचोकमा तनाव

Author Image
बुधवार, वैशाख २७, २०८०

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका-६ नेताचोकमा बुधबार दिउँसो टिपरले ठक्कर दिँदा स्कुटर चालक पुरुषको मृत्यु भएको छ।प्रहरीका अनुसार विराटनगर-विराटचोक सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०५-००१ प ३८६० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ७४०२ नम्बरको टिपरले दिउँसो ४:४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर स्कुटर चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ४६ वर्षीय चन्द्रकान्त काफ्लेको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सुनीलकुमार श्रेष्ठले बताए।

 

उनका अनुसार तीव्र गतिमा रहेको टिपरले पछाडिबाट स्कुटरलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। झोलामा फेला परेको नागरिकताका आधारमा मृतकको पहिचान खुलेको जानकारी श्रेष्ठले दिए।

दुर्घटनालगत्तै नेताचोकमा तनाव उत्पन्न भएको छ । दुर्घटनास्थलमा स्थानीयको भीड लागेको छ। टिपरका चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोसित बनेका स्थानीयको अवरोधका कारण विराटनगर-विराटचोक सडकखण्डमा सवारी आवागमन प्रभावित बनेको छ।

आक्रोसित भीडले ढुंगामुडा गर्दै टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तोडफोडबाट टिपरमा क्षति पुगेको छ। सम्झाईबुझाई गरेर जम्मा भएको भीडलाई घटनास्थलबाट हटाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहालले जानकारी दिए।

‘दुर्घटनामा परेर १ जनाको मृत्यु भएको जानकारी आएको छ। अरु विस्तृत जानकारी प्राप्त भइसकेको छैन,’ उनले भने, ‘घटनास्थलमा ठूलो भीड जम्मा भएको छ। स्थानीय आक्रोसित बनेका छन् ।’ चरम लापरबाही गरेर टिपर चलाउने चालकलाई कारबाही हुनुपर्नेलगायतका माग राखेर आक्रोसित भीडले सवारी आवागमनमा अवरोध गरिरहेको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानको प्रक्रिया अघि बढाउन स्थानीयलाई सम्झाईबुझाई गरेर घटनास्थलबाट भीड हटाउने प्रयास भइरहेको डीएसपी दाहालले बताए। ‘आक्रोसित भीडका कारण घटनास्थलमा सामान्य तनाव उत्पन्न भएको छ,’ उनले भने, ‘भीडलाई साम्य पारेर घटना अनुसन्धानको प्रक्रिया सुरु गर्ने प्रयासमा छौं।’

दुर्घटनालगत्तै घटनास्थलमा टिपर छाडेर चालक भने फरार बनेका छन्। फरार चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। डीएसपी दाहालले चालकको खोजी तीव्र पारिएको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर