Aamsanchar

सेनाको टोलीद्वारा सगरमाथाको सफल आरोहण

Author Image
सोमवार, जेठ १, २०८०

काठमाडौं : नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका ५ जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु सोमबार बिहान १० बजेर ५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत ५ जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन। यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्णको सफल आरोहण गरेका थिए।

गत चैत १४ गते जङ्गी अड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सफा हिमाल अभियान सुरु गरिएको थियो।

अभियानबाट करिब ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार ३११ किलो फोहर सङ्कलन भइसकेको छ। यो अभियान विश्व वातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर