भारतबाट नेपाल आएर लामो समयदेखि राजनीतिक क्षेत्रमा पहुँच बनाउँदै आएका बेचन झासमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् ।
पक्राउ परेका बिचौलिया रामशरण केसीले झालाई उक्त प्रकरणमा राजनीतिक नेतृत्वलाई मिलाएबापतको २ करोडको चेक दिएको खुलासा भएको छ ।
जुनसुकै दलका नेता प्रधानमन्त्री भएपनि बालुवाटारमा सहज पहुँच राख्न सक्ने झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू आफूले मिलाउने भन्दै रकम असुल गरेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
नेपालका ठूला ठेक्कापट्टामा समेत सेटिङका काम मिलाउँदै आएका झा उक्त प्रकरण सार्वजनिक भएपछि अहिले फरार भएका छन् । नेपाली कांग्रेसका नेताहरूसँग बढी नजिक र नेपालस्थित भारतीय दूतावासमा समेत राम्रो पहुँच बनाएका झा यसअघि पनि विवादमा आएका पात्र हुन् ।
यसैबीच हाल प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद आङटावा शेर्पाबिरुद्ध काठमाडौं प्रहरी परिसरमा ५ जनाले उजुरी दिएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै दोलखाका ५ जनासँग शेर्पाले जनही ६ लाख रुपियाँ लिएको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको काठमाडौं प्रहरी पसिरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘निवेदन आएको छ, हामीले त्यसलाई अध्ययन गरिरहेका छौं । त्यसलाई पनि प्रहरीले तयार पारेको प्रतिवेदनमा समावेश गराउने तयारी गरेका छौं ।’