Aamsanchar

बेपत्ता भएको २४ वर्षपछि परिवारको सम्पर्कमा आए टीकाराम पुन

Author Image
बिहिवार, जेठ ११, २०८०

जाजरकोट : जाजरकोट भेरी नगरपालिका- २ तिमिलेका टीकाराम पुन बेपत्ता भएको २४ वर्षपछि सम्पर्कमा आएका छन् । माओवादी सशस्त्र द्वन्दका क्रममा राज्य पक्षबाट चरम यातना पाइ २०५६ सालदेखि घरपरिवारबाट सम्पर्कविही भएका पुन हालै सम्पर्कमा आएका हुन् । घरमा उनका श्रीमती,दुई छोरा,दुई छोरी छन्।  उनी हाल भारतको उत्तराखण्ड प्रदेश  उत्तरकासी जिल्ला,नेटवार पोष्ट अफिस मोरी तहसिल, गौरादी गाउँमा व्यवसाय गरेर बसेको खुलेको हो ।

गाउँकै एकजना शिक्षक रुद्रबहादुर वलीसँगको भीडीयो कलमार्फत् उनी सम्पर्कमा आएका हुन् ।  भारतको गौरादी गाउँमा घर बनाइ स्याउको बगैंचा तयार गरि कृषि पेशामा जीवन विताइरहेको जानकारी दिएको शिक्षक वलीले बताए ।

तत्कालिन सुरक्षा फौजले माओवादी आरोपमा चरम यातना दिएपछि ज्यान जोगाउन भागेर भारत आएको र उतै कृषि व्यवसाय गरेर बसेको टीकारामले बताए । पढाइ लेखाइ नभएका कारण पनि आफूले घरमा चिठी पठाउन नसकेको उनको भनाइ छ।

नेपालमा शान्ति स्थापना भएको थाह नै नपाएको उनले बताए । ‘अझै द्वन्दको उस्तै अवस्था होला भन्ने लागेको थियो। मलाई स्थानीय पाँचकाटिया प्रहरी चौकीमा लगेर २०५४ सालमा पुलिसले चरम याताना दियो ।  पटकपटक माओवादी आरोपमा यातना दिन थालेपछि आफू भागेर भारत आएको,’ टेलिफोनमा बताए ।

उनलाई घरपरिवारले निकै खोजी गरेपनि कतै भेटाउन सकेको थिएन् । कान्छो छोरा कर्णबहादुर उनी भाग्दा दुई वर्षका थिए । अहिले २६ वर्षका भइसकेका छन् । छोरा र श्रीमतीलाई आफूलाई लिन आउनका लागि टीकारामले अनुरोध समेत गरेका छन् ।

टीकारामले भारतमा प्रेम राना नाम राखेका छन् । सोही नामबाट घरजग्गा खरिद गरेर स्याउ बगैचा निर्माण गरेका छन् । द्वन्दकै कारण उनले घरपरिबाट विच्छेद हुनुपरे पनि राज्यबाट द्वन्द पीडितसम्बन्धी कुनै किसिमका राहत नलिएको परिवारले जनाएको छ ।

यसरी बेपत्ता व्यक्ति सम्पर्कमा आउँदा घर परिवार र गाउँमा खुसी छाएको स्थानीय हरिबहादुर पुनले बताए । उनका कान्छा छोरा कर्ण बहादुर पुनले आफूहरूले एक्कासी बुबा जिवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो भएको बताए ।

‘बुबा जीवितै हुनुहोला भन्ने हामीले आशा नै गरेका थिएनौं । जीवितै हुनुहुदो रहेछ । हामी निकै खुसी छौं । अब छिट्टै बुबालाई भेटेर घर ल्याउँछौं,’उनले भने।

२४ वर्षसम्म आफ्ना नागरिकबारे राज्य मौन बस्नु र खोजीतलासी नगर्नु दु:खद पक्ष भएको अधिकारकर्मी सहदेव बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर