Aamsanchar

जीवनेश्वर मन्दिरमा विश्व शान्ति र पितृ मोक्षका लागि एक करोड बत्ति बालिँदै

Author Image
शुक्रवार, जेठ १२, २०८०

ललितपुर : गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित जीवनेश्वर मन्दिर परिसरमा विश्व शान्ति र पितृ मोक्षका लागि एक करोड बत्ति बालिँदै छ। जीवनेश्वर मन्दिर करोड बत्ति समितिको आयोजनामा भोलि शनिबार करोड बत्ति बाल्न लागिएको हो।

काठमाडौं उपत्यककामै दुर्लभ मानिएको करोड बत्ति प्रज्वलनका लागि आवश्यक तयारी पूरा भएको समितिकी अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिइन् ।

करोड बत्ति बाल्न शुक्रबारै ४ सय वटा पालामा प्रति पाला २५ हजार बत्ति भिजाएर बाल्नका लागि तयारी अवस्थामा राखिएको समितिका उपाध्यक्ष यादवराज चालिसेले जानकारी दिए।

न्यौपाने गाउँमा रहेको मन्दिरमा करोड बत्ति बाल्ने संकल्प लिएर बासुदेव लुईटेल करिब २ वर्षदेखि बत्ति र नगद सहयोगका लागि खटेका थिए। वरपरका मूलडोल , झ्यालुन्टार, बोहोराटार‍, विष्टगाउँ, डाँडागाउँ, टाहाखेल, पारीगाउँ, प्याङगाउँ, चापागाउँ, सल्यानलगायतका अन्य स्थानबाट अत्यधिक भक्तजनको सहभागीता रहने अनुमान आयोजक समितिको छ।

दिउँसो साढे १२ बजे महासंकल्प गरेपछि दिउँसो १ बजे करोड बत्ति बाल्ने तयारी रहेको प्रचार कमिटी संयोजक नवीन लुईटेलले जानकारी दिए। उनका अनुसार ब्रम्हा‚ विष्णु‚ महेश्वरको पूजा गरेपछि बत्ति संकल्प गरिनेछ। बत्ति बालिसकेपछि ४ बजे भागवतको तिल चढाउने कार्यक्रम छ।

यो धार्मिक अनुष्ठानका लागि गोदावरी नगरपालिकाका १४ वटै वडाबाट सहयोग मिलेको समितिकी सचिव देवकी न्यौपानेलले जानकारी दिईन्। करोड बत्तिको उपलक्ष्यमा मन्दिर परिसरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि गत आइतबारदेखि चलिरहेको छ।

पंण्डित कपिलदेव भट्ट महाराजले सप्ताहमा कथावाचन गरिरहेका छन्। गत शनिबार नगर परिक्रमासहित कलश यात्रा गरेर यो अनुष्ठान सुरु भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर