काठमाडौं । पवित्र पाशुपत क्षेत्र सनातन बैदिक र बौद्धहरुको तीर्थस्थलको रुपमा ख्यातीप्राप्त छ । त्यसैले त्यहाँ पुरातात्विक र ऐतिहासिक महत्वका धेरै सम्पदा रहेको छन । पशुपतिका शिवलिंगमा अर्बौंको सुनको जलहरी राखिएपनि लिच्छवीकालिन सम्पदा भने दयनीय अवस्थामा छ ।पाशुपत क्षेत्र सनातन बैदिक र महायान तथा वज्रयान बौद्धहरुको आस्थाको केन्द्र हो । त्यहाँ लिच्छवीकालिन सम्पदा यत्रतत्र देख्न सकिन्छ । यसको सुरक्षाका लागि मन्दिर परिसरमा २४ सै घण्टा सीसी क्यामेरा जडान गरिएको छ । तर पनि दुई वर्ष अघि पुरातात्विक र ऐतिहासिक महत्वको लिच्छवीकालिन बौद्ध सम्पदा धम्मचक्र चोरी भएको थियो । यस घटनाबाट पशुपति क्षेत्र विकास कोषले पाठ सिकेको देखिदैन ।
पशुपति शिव लिंगमा करोडौंको सुनको जलहरी राख्न सक्ने सरकार र कोष ऐतिहासिक र पुरातात्विक सम्पदाको सुरक्षा र संरक्षणमा बेखबर बनेको छ । करीव १६ सय वर्ष पुरानो शिवलिगं सूर्यघाटको भीरमा असुरक्षित रुपमा रहेको छ । यो शिवलिंग राजा मानदेव र रानी भोगिनीकी छोरी विजयावतीले स्थापना गरेकी हुन् । शिवलिंगको पाद पिठमा प्रष्ट रुपमा संम्वत ४२७ सहित लिच्छवी लिपी संस्कृत भाषाको अभिलेख समेत कुँदिएको छ ।
पुरातत्वविज्ञ सुशिल कुमार गौतमका अनुसार अभिलेख समेत रहेकोले यो शिवलिंगको पुरातात्विक रुपमा समेत अत्यन्त महत्वपूर्ण छ । जसको माध्यमबाट तात्कालिन समयमा महिला शिक्षा, शिल्प विद्या र सशक्तिकरण बारेमा बुझन सकिन्छ ।
कैलाश र सूर्यघाट लगायतको स्थानमा छरिएर रहेका लिच्छवी कालिन शिवलिंग समेत असुरक्षित छन् । यस्ता महत्वपूर्ण शिवलिंगको सुरक्षामा कोषको चासो देखिदैन । पशुपति दर्शन र घुमघाम गर्न आउनेको जमघट हुने ठाउँमा शिवलिंग बेवारिस जस्तै देखिन्छ । लिच्छवीकालजस्तै मौलिक रुपमा शिवलिंगको सुरक्षा गर्न सकिने गौतमको भनाइ छ ।
यस्तो महत्वपूर्ण तीर्थ स्थलमा लिच्छवीकालिन शिवलिंग यस्तो अवस्थामा रहनु पक्कै पनि दुखद हो । आफूलाई सनातनी धर्मको तावेदारी गर्नेहरुलाई यो अवस्थाले गिज्याइरहेको छ । जबसम्म यस्ता अमूल्य सम्पदाको सुरक्षा हुँदैन, तबसम्म विश्व सम्पदा सूचिमा सूचिकृत पाशुपत क्षेत्र सुधारका लागि गरिएको बेहिसाव खर्चको औचित्य प्रमाणित नहुने निश्चित छ । इतिहासको नासो मासेर तालुकदार मन्त्रीको नेतृत्वमा हुने सरसफाई मूलतः सस्तो लोकप्रियता खोज्ने प्रपञ्चबाहेक केही होइन ।