Aamsanchar

सेनाद्वारा पहिरो र बाढीमा फसेकाको उद्धार अभ्यास

Author Image
मङ्गलवार, जेठ २३, २०८०

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ हुँदै बगिरहेको मोदी खोलाको बीचमा मान्छे जस्तै देखिने कोही डुबिरहेको हुन्छ। नजिकै रहेको नेपाली सेनाको टोलीका सदस्यहरू ढाडमा डोरी बाँधेर खोलामा हाम फाल्छन्, मान्छे जस्तै देखिएको ‘डमी’ को उद्धार गरेर नजिकै रहेको ‘स्ट्रेचर’ मा राखेर मध्यपहाडी लोकमार्ग अन्तर्गतको पोखरा–बागलुङ सडकमा तयारी अवस्थामा रहेको सवारीमा राखेर अस्पतालतर्फ दौडाइन्छ।

मोदी खोलाको दुवैतर्फका तीर छुने गरी बाँधिएको डोरीमा झुन्डिएरै वारपार गरिरहेका सेनाका सिपाहीले खोलाबाट उद्धार गरेको, सिपाही नै खोलामा पसेर कसैको ज्यान बचाउनको लागि प्रयास गरेको अभ्यास देख्दा नजिकै रहेका सरस्वती माध्यमिक विद्यालय पातीचौरका विद्यार्थीहरू दंग परेर हेरिरहेका  थिए।

बर्खा यामको समयमा खोलामा आउने बाढीले मान्छेलाई बगाएको अवस्थामा उनीहरूको उद्धार गर्नका लागि पर्वतमा रहेको नेपाली सेनाको नयाँ रणभीम गुल्मले यस्तै अभ्यासहरू गरिरहेको छ। विगतका वर्षहरूमा पनि बाढी र पहिरोमा परी मानवीय क्षतिले विक्षिप्त बनेको पर्वत बाढी पहिरोका हिसाबले जोखिममा  रहेको छ। अब मनसुन भित्रिने बेला हुनै लाग्न नेपाली सेनाले प्राकृतिक विपद् आइहालेको अवस्थामा कसरी उद्धार गर्ने भन्ने बारे अभ्यास गरिरहेको छ।

रणभीम गुल्मका गुल्मपति सेनानी अजित थापाका अनुसार बाढीको दौरान खोलाले बगाएको वा डुबानमा परेको अवस्थामा उद्धार गर्ने तरिका तथा नदी पार गर्ने सम्बन्धी विपद् पूर्व तयारी ‘अभ्यास मनसुन–३’ सञ्चालन गरिएको हो। ‘हामीले अभ्यास गर्ने बेलामा विद्यार्थीहरूलाई पनि ल्याएर उद्धार कसरी हुने रहेछ भनेर डेमो देखाएका छौँ। यसले नेपाली सेनाले विपद्मा गर्ने कामको बारेमा थाहा दिन्छ’, उनले भने, ‘विपद् आएका सबै ठाउँमा सुरक्षाकर्मीको क्याम्प नभएको अवस्थामा उद्धारको सुरुवात गर्ने त स्थानीयले हो। ती स्थानीयमा विद्यार्थी पनि छन्। त्यसैले उद्धारको ज्ञान र तरिकाबारे विद्यार्थीले पनि थाहा पाउनुपर्छ भन्ने हो।’

फलेवास नगरपालिका–५ खानीगाउँको पनि दृश्य पनि रोचक नै थियो। भीरमा कोही मान्छे अड्किएको छ। उसलाई सकुशल उद्धारको प्रयास गरिरहेका नेपाली सेना र सशस्त्र प्रहरीका सिपाहीहरूमा डोरीमा झुन्डिएरै भिरमा पुग्छन्। अड्किएर बसेको व्यक्तिलाई सफलतापूर्वक सतहमा झारेपछि तत्कालै ‘स्ट्रेचर’ मा राखेर यथाशक्य अस्पताल पुर्‍याउने प्रयास हुन्छ। यसलाई नियालिरहेका हुन्छन् खानीगाउँका स्थानीयवासीले।

पहिरो आएको अवस्थामा कोही पनि व्यक्ति पहिरोको कुनै भागमा अड्किएमा वा पहिरोमा फसेमा कसरी उद्धार गर्न सकिन्छ भनेर नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले ‘डेमो’ प्रदर्शन गर्दा खानीगाउँबासीले उद्धारको तरिकाबारे समेत सिक्ने मौका पाए। ‘डेमो’ सुरक्षाकर्मीको लागि अभ्यास भएको भए पनि अभ्यासले स्थानीयलाई पनि सिकाई भएको स्थानीयवासी बताउँछन्।

‘पहिरोको दौरान भिर तथा पहिरोको बीचमा अड्किएका व्यक्तिहरूलाई रोप, क्याराविना र हार्नेसको सहायताले उद्धार, र्‍याप्लिङ्ग, क्लाईम्बिङ्ग र घाइतेको उपचार सम्बन्धी डेमोस्ट्रेशन अभ्यास सञ्चालन गरिएको छ। अभ्यासमा करिब चार सय स्थानीयले पनि हेर्नुभयो’, सेनानी थापा भन्छन्, ‘हामीले त यी अभ्यासहरू तालिमदेखि नै गर्दै आइरहेका हुन्छौँ। तर अभ्यासलाई जनताका माझमा लैजाँदा सुरक्षाकर्मीले गर्ने उद्धार कार्यको बारेमा जान्ने अवसर मिल्छ। उहाँहरूमा सिकाई हुन्छ।’

अभ्यासको क्रममा नेपाली सेनाको भूमिकाको बारेमा जानकारी दिँदै घाइतेहरूको प्राथमिक उपचारको बारेमा जानकारीमूलक कक्षाहरू पनि सञ्चालन गरिएका छन्। वर्षा सुरु हुनु पूर्व नै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा विपद्को सम्भावना र यसबाट जोगिन सक्ने उपायको बारेमा आम नागरिकलाई थाहा दिने उद्देश्यले अभ्यासलाई समुदायमा जोडिएको नेपाली सेनाले बताएको छ। सेनाको अगुवाइमा भएका अभ्यास तथा सचेतनामूलक कार्यक्रमहरूमा स्थानीय प्रशासन, जनप्रतिनिधि, अन्य सुरक्षा निकाय तथा स्थानीय जनताको संयुक्त सहभागिता रहेको थियो। अभ्यासका लागि नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वत, जिल्ला विपद्  व्यवस्थापन समिति, स्थानीय बासिन्दा लगायतले पनि सहकार्य गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर