



विराटनगर – साइकल यात्रीलाई मुक्का प्रहार गरेर बेहोस अवस्थामै घिसार्ने विराटनगरका युवक धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगरका आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
विराटनगर महानगरपालिका–४ दुधफारम चोकमा साइकल यात्रीलाई मुक्का प्रहार गरी बेहोस बनाएर ढालेपछि भेटवालले घिसार्दै सडक किनारमा ल्याएर छाडिदिएका थिए । पछि बेहोस अवस्थामै युवालाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो ।

भेटवालविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएकोमा सोमबार थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अर्का प्रतिवादी १७ वर्षीय किशोर भने फरार छन् । उनलाई पक्राउ गर्न अदालतबाट ३५ दिने म्याद जारी भएको छ ।
असार २० गते राति उद्योगमा मजदुरी गरेर फर्कंदै गर्दा दुधफारम चोकमा भेटवालले विराटनगर–६ का पवनकुमार साह हलुवालाई मुक्का प्रहार गरेका थिए । त्यसपछि सडकमा अमानवीय तवरले घिसारेको भिडियो भाइरल बनेको थियो ।
भिडियोमा देखिएअनुसार बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले एक्कासि आक्रमण गरेका थिए । उनको साइकल भेटवालका काकाका छोराले फ्याँकिदिएका थिए ।
कार चालक तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीसहित भेटवाल दाजुभाइविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।