Aamsanchar

विराटनगर महानगरमा डेंगुका बिरामी बढे, ‘खोज र नष्ट अभियान’ सञ्चालन

Author Image
शुक्रवार, साउन १९, २०८०

विराटनगर – विराटनगर महानगरपालिकामा डेंगुका बिरामी बढ्न थालेपछि ‘खोज र नष्ट अभियान’ महानगरले सञ्चालन गरेको छ  ।  असारको तेस्रो साताबाट विराटनगर महानगरपालिकामा देखिएका डेंगु बिरामीको संख्या हालसम्म १८ पुगेको छ।

डेंगुका बिरामी दिनप्रतिदिन बढ्दै गएपछि विराटनगर महानगरपालिकाले खोज नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।  एक साताअघिसम्म १० जनामा देखिएको डेंगु हाल  १८ जनामा देखा परेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

शुक्रबारबाट  महानगरले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका ‘खोज र नष्ट गर’ अभियान चलाएको हो  ।   शुक्रबार बिहान ७ बजेदेखि ९ बजेसम्म १९ वटै वडामा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको  स्वास्थ्य प्रमुख अलिले बताए ।

सबै वडामा सामाजिक संघसंस्था,विद्यालय,स्वास्थ्य संस्था, टोल संगठन,राजनीतिक दललगायतको सहभागीतामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो।

डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा सरसरफाइमा कार्यररत ३० जना कर्मचारीलाई बिहीबार ‘खोज र नष्ट ’ सम्बन्धी प्रशिक्षण समेत दिएको थियो ।

टायर,ड्रम,गमला,फ्रिज,कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको उनले बताए ।

धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि महानगरले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको हो ।

प्रदेशमा डेंगुको बिरामी दिनादिन बढ्ने क्रम नरोकिए विराटनगरमा सञ्चालन भएको कोभिड अस्पताललाई डेंगु बिरामीको उपचार गर्ने अस्पतालको रुपमा विकसित गर्ने भएको छ  ।

स्थानीय सरकार,प्रदेश र संघीय सरकारले संक्रमण नरोकिए डेंगु अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदरले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)