Aamsanchar

टीकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारको लागि अक्षय कोष स्थापना

Author Image
शनिवार, साउन २०, २०८०

धनकुटा : नेपाल पत्रकार महासंघ धनकुटा शाखामा टीकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारको लागि अक्षय कोष स्थापना गरिएको छ।

निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गराउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो।

नेपाल पत्रकार महासंघ, धनकुटा शाखाले संचालन गर्ने धनकुटा नगरपालिका वडा नं. ५ का समाजसेवी द्रोणप्रसाद गुरागाईंले आफ्ना स्वर्गीय आमा टीकादेवी गुरागाँई र बुबा हरि गुरागाँईको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन्।

टीकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारको लागि गुरागाईँले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेको र त्यसको सञ्चालन तथा पुरस्कारसम्बन्धी सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ।

सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई र अक्षयकोष दाता समाजसेवी द्रोर्णप्रसाद गुरागाँईले हस्ताक्षर गरेका हुन्।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै समाजसेवी गुरागाँईले धनकुटाको पत्रकारिताको वृद्धि र विकासको लागि टेवा पुगोस् भन्ने उद्देश्यले स्वर्गीय बुबा–आमाको स्मृतिमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले अक्षयकोष गरेको बताए। गुरागाँईले यस अघि पनि पत्रकार महासंघ धनकुटा शाखाले संचालन गरेको पत्रकार कल्याण कोषको लागि २५ हजार नगद सहयोग गरेका थिए।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले धनकुटाको पत्रकारिताको विकासको लागि खुल्ला हृदयले सहयोग गरेको भन्दै समाजसेवी गुरागाईंलाई धन्यवाद दिए।

उनले सो अवसरमा गुरगाँईलाई खदा लगाएर सम्मान गर्नुको साथै मायाको चिनोसमेत प्रदान गरेका थिए। उक्त पुरस्कार हरेक वर्ष पुस २३ गते नेपाल पत्रकार महासंघ धनकुटा शाखाको स्थापना दिवसको अवसरमा वितरण गरिने पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरिबहादुर लम्जेलले बताए।

उनका अनुसार अक्षयकोषमा रहेको साँवा रकमबाट प्राप्त ब्याजको ९० प्रतिशत रकमबाट एक जना पत्रकारलाई पुरस्कृत गरिने र १० प्रतिशत कोषमा थप गरिने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)