Aamsanchar

प्रहरीद्वारा लागूऔषध सेवन गर्न जोगवनी जाने नेपालीमाथि कडाइ

Author Image
शनिवार, साउन २०, २०८०

विराटनगर –  विराटनगरको रानी आसपासका नाका हुँदै लागूऔषध सेवन गर्न भारतको जोगवनी जाने नेपालीमाथि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ। जोगवनी पुग्नेमाथि सीमामा निगरानी बढाएर प्रहरीले कडाइ गर्न थालेको हो। दैनिक दर्जनौं नेपाली बिना काम जोगवनी जाने र लागूऔषध सेवन गरेर फर्किने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाको निर्देशनमा इलाका प्रहरी कार्यालय रानीले जोगवनी जाने नेपालीमाथि निगरानी बढाएको हो।

भारततर्फ प्रस्थान गर्ने नेपालीमाथि निगरानी र कडाइ गर्न सीमा क्षेत्रमा प्रहरी टोली परिचालित छ। टोलीले लागूऔषधका प्रयोगकर्तालाई लागूऔषध सेवन गर्न नदिन र उनीहरुलाई निरुत्साहित गर्न लागिपरेको छ। काम विशेषले जोगवनी जानेलाई छाडिने र बिना काम जान खोज्नेलाई सीमा क्षेत्रमै रोकेर फिर्ता पठाउने नीति प्रहरीले लिएको छ।

‘जोगवनी जान खोज्नेलाई सीमा क्षेत्रमै सोधपुछ गर्ने गरिएको छ। काम विशेषले जानेलाई छाड्ने गरिएको छ,’ प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘बिना काम जानेलाई परिवारसँग समन्वय गर्दै सीमा क्षेत्रमै रोकेर ‘काउन्सिलिङ’ गर्दै फिर्ता पठाइन्छ। ‘काउन्सिलिङ’का लागि विशेष कक्षा सञ्चालन गरिएको छ।’ फिर्ता पठाइएकाहरुको रेकर्डसमेत राख्ने गरिएको जानकारी उनले दिए।

शंकास्पदका बारेमा परिवारसँग सम्पर्क गरेर जानकारी लिने र त्यत्तिकै जोगवनी जान खोजेको पाइएमा रोक्ने गरिएको रेग्मीको भनाइ छ। उनका अनुसार लागूऔषध दुर्व्यसनलाई निरुत्साहित गर्न गत आइतबारदेखि विशेष अभियान चलाएर सीमा क्षेत्रमा निगरानी बढाएको हो। हालसम्म बिना काम जोगवनी जान खोज्ने दुई सय ५० जनाभन्दा बढीलाई फिर्ता पठाइसकिएको इन्सपेक्टर रेग्मीले बताए। उनका अनुसार दैनिक ५० जनाजतिलाई फिर्ता पठाउने काम भइरहेको छ।

दुर्व्यसन एवं कुलतमा फसेका नेपाली लागूऔषध सेवनका लागि भारत जाँदा उतै लुटिने, मारिनेजस्ता घटनासमेत हुने गरेको प्रहरीको भनाइ छ। सीमा क्षेत्रमा लागूऔषध बेचबिखन रोक्नका लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको नेपाल प्रहरीले जनाएको छ। लागूऔषध लिएर आउनेलाई भने प्रहरीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने गरेको छ।

प्रहरीले आर्थिक वर्ष २०७९/०८१ मा कोसी प्रदेशमा लागूऔषधसँग सम्बन्धित सात सय ८९ वटा मुद्दा दर्ता गरेको छ। जसमध्ये दुई सय ८८ वटा मुद्दा किनारा लागिसकेका छन्। पाँच सय एकवटा मुद्दा विचाराधीन अवस्थामा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर