Aamsanchar

नक्कली कागज बनाएर नेपालमा माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्कायाे

Author Image
बुधवार, साउन २४, २०८०

बिर्तामोड – बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । राजस्थान घर बताउने उनीहरूलाई पक्राउ गरी भारत फर्काएको हो ।

मंगलबार दिउँसो सडक तथा पसलहरूमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको सङ्ख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरूको समूह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जानकारी दिए। बसपार्कको एक होटेलमा डेरा गरी बसेको फेला पारेपछि उनीहरूलाई नगर प्रहरीले पक्राउ गरी अनारमनी प्रहरीको जिम्मा लगाइएको हो ।

पक्राउ परेकाहरू बसपार्कमा सुनिता शेर्माले सञ्चालन गर्दै आएको मौसम ताप्लेजुङ होटेलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरूले दैनिक १ हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए । पक्राउ पर्नेहरू १२ जना बालबालिकासहित २४ जना थिए ।

६ महिनाको बच्चासहित नेपाल आएका उनीहरू प्राकृतिक विपत्तिका कारण आफूहरूले घरबार गुमाएकोले सहयोगको अपिल गरिएको कागज बनाएर माग्दै हिँड्ने गरेको पाइएको छ । बिर्तामोडमा चाडपर्व नजिकिएसँगै यस प्रकारका मगन्तेहरूको भीड बढ्ने गरेको पाइन्छ । पक्राउ गरिएका सबैलाई नगर प्रहरीको गाडीमा राखेर काँकडभिट्टाको मेची पुलसम्म छोडिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

नगरपालिकाले जनसरोकारका विषयलाई ध्यानमा राख्दै बिर्तामोडमा हुने विभिन्न प्रकारका गतिविधिहरूको कडाइका साथ अनुगमन गर्दै आएको नगर उपप्रमुख सङ्ग्रौलाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर