Aamsanchar

चामल, गोलभेडा र जिराको भाउ महँगियाे

Author Image
बुधवार, साउन २४, २०८०

काठमाण्डौ – दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । बजारमा गाेलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ ।

माग अनुसारको उत्पादन नहुँदा गाेलभेडाको भाउ दिनहुँ बढ्दै गएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएका छन् ।

२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ ।

तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढाएको भन्दै विरोध भइरहेको छ ।

यस्तै, बजारमा जीराको भाउ समेत अचाक्ली बढेको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसले असर गरेको व्यापारी बताउँछन् ।

त्यस्तै, बजारमा गोलभेडाको भाउ पनि दिनहुँ बढिरहेको छ । काठमाण्डौको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज थोक बजारमा नै ठूलो गाेलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ ।

यस्तै, सानो गाेलभेडा किलोको ६५ देखि ७५ रुपैयाँ र टनेलको सानो गाेलभेडा ८० रुपैयाँदेखि ९५ रुपैयाँ थोक मूल्यमा पुगेको छ । यो थोक मूल्य हो ।

उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भाउको दोब्बर तेब्बर महँगाे पर्छ । गाेलभेडाको भाउ बढ्नुमा अफसिजन र माग भन्दा कम उत्पादन हुनु नै कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

अहिले भारतमा पनि गाेलभेडाको भाउ बढेको छ । यसले गर्दा भारतबाट गाेलभेडा भित्रिएको छैन । बरु नेपालबाट केही व्यापारीले भारतमा बिक्रि गरिरहेका छन् ।

गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गाेलभेडा फालेर विरोध गरेका थिए ।

तर, अहिले भने किसानले खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाइरहेका छन् । गाेलभेडाको मूल्य बढ्न थालेपछि  किसान उत्साहित भएका छन् । तर, उपभोक्ता भने महँगीको मारमा परेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)