



काठमाडौं : करिब ६१ किलो सुन तस्करी प्रकरणमा थप दुई चिनिया नागरिक पक्राउ परेका छन् । अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई चिनिया नागरिक परेको प्रहरी प्रवक्ता कुबेर कडायले जानकारी दिए। पक्राउ परेका दुईजनाको नाम प्रहरीले खुलाएको छैन। तर पक्राउ परेकामध्ये उनीहरू सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको अनुमान प्रहरीले गरेको छ।
प्रहरीले बिहीबार पनि चार चिनिया नागरिकलाई पक्राउ गरेको थियो। काठमाडौंबाट तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई पक्राउ परेका थिए। उनीहरूमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको प्रवक्ता कडायतले बताए।

गत साउन २ गते राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो। पछि गाल्ने क्रममा सुन करिब ६१ किलो भएको पुष्टि भएको थियो।
सुन तस्करीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरिरहेको छ।