



दाङ – दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका-१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।डिएसपी गौतमका अनुसार गत आइतवार राति विकलाई अपहरण गरी रा१ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्याएको थियो । त्यहाँ उनलाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।पक्राउ परेहरुले घाइते विकले पैसा चोरी गरेको आरोपमा अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् ।डीएसपी गौतमले पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको बताए ।