



काठमाडौं – यस वर्षको विष्णु–नाती फोटो पत्रकारिता सिरपाःगुथी पुरस्कार दि हिमालयन टाइम्सका फोटोपत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ ।
काठमाडौमा आज एक कार्यक्रमकाबीच दुई दशक अगाडीदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो । यस्तै,गुथीले नेवाःसंस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यले २०६४ सालदेखि चिग्वःधिमे बाजा प्रशिक्षण दिँदै आउनुभएकी चिग्वःधिमे गसरु सुनिता महर्जनलाई विशेष सम्मान गरिएको छ ।
बाग्मती प्रदेशका पर्यटन,संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले प्रमुख आतिथ्यतामा श्रेष्ठ तथा महर्जनलाई क्रमशःपुरस्कार र सम्मान प्रदान गरिएको हो । नेपालको फोटो पत्रकारिता क्षेत्रमा अनवरत लाग्नुभएका फोटो पत्रकार नातिकाजी महर्जनले आफु र आफ्नो धर्मपत्नी विष्णुदेवी महर्जनको नाममा ‘विष्णु–नाती फोटो पत्रकारिता सिरपाः’ स्थापना गर्नुभएको थियो ।

नेपालको सांस्कृतिक फोटो पत्रकारिता क्षेत्रमा लागेका फोटोपत्रकारहरुलाई हौसला प्रदान गर्ने उद्धेश्यले नातिकाजी महर्जनले पुरस्कारको स्थापना गर्नुभएको हो ।