



वीरेन्द्रनगर : जुम्लाको सिंजामा केदारनाथ महोत्सव सुरु भएको छ। साउन पूर्णिमा, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेला भन्ने मूल नाराका साथ सिंजा गाउँपालिका–४ बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा जुम्लाको स्याउ प्रदर्शनीसमेत हुने सिजा गाँउपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ। तर उचित प्रचारप्रसारको अभावमा सधैं ओझेलमा परिरहेको छ। महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने मुख्य लक्ष्य राखिएको छ। “पुर्खाहरुको योगदान, खसहरुको विरासत, भाषा संस्कृतिको जननी, नाथहरुको नाथ, साउनको शुक्ल एकादशी पुण्य कर्म र पर्यटन प्रवद्र्धन गर्न पुगौं केदारनाथ” भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको हो।
महोत्सव उद्घाटन गर्दै कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णाली प्रदेशको परम्परागत संस्कृति उत्पादन र रोजगारी परिपुरक भएको बताए। उनले कर्णाली प्रदेश भित्र रहेका परम्परागत लोक, संस्कृत र सव्यताहरु संरक्षण आबश्यक रहेको बताए। उनले भने, अहिले कर्णाली प्रदेशमा रैथाने संस्कृतका रुपमा रहेका महत्वपूर्ण तिर्थस्थलहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न कर्णाली प्रदेश सरकार लागिरहेको छ। परम्परागत संस्कृतिबाट कर्णालीको जीवन व्यवहार रुपान्तरण गर्दै उत्पादनमा आधरित रोजगारी सृजना गर्नु आवश्यक छ।

कार्यक्रममा कालिकोटको तिलागुफा नगरपालिका प्रमूख संकरप्रसाद उपाध्यायले कर्णालीको खस राज्यको राजधानी सिंजाको ऐतिहासिक र बाहादुरीपुर्ण ईतिहासको अहिले पनि महत्व कम नभएको बताए। उनले भने, ‘कर्णालीलाई विकासमा पछाडी पाएपनि नेपाली भाषा र साहित्यको जननी, सिंजा सब्यता र यहाँको गर्मिलो इतिहास सधै जिउदो रहनेछ। अन्याय नगर्ने, अन्याय नसहने यहाँको संस्कार अहिले पनि जिबितै छ।’
कर्णालीमा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले धनी छ। तर यसको प्रचार प्रसार कमी र पर्यटकहरुलाई सुविधा दिन नसक्दा ओझेलमा परेको छ।