Aamsanchar

कृष्ण जन्माष्टीको अवसरमा १३ हजारभन्दा बढी कन्या पुजियाे

Author Image
बिहिवार, भदौ २१, २०८०

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चाेकमा कृष्ण जन्माष्टीको अवसरमा हिजाे १३ हजारभन्दा बढी कन्यालाई पुजिएकाे छ । काभ्रेकाे बनेपा, पनाैती, धुलिखेल, पाँचखाल लगायतका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरी १३ हजारभन्दा बढी कन्यालाई पुजिएको हाे । विसं १९५९ देखि काभ्रेपलाञ्चोकमा कृष्ण जन्माष्टीको अवसरमा शुरु गरिएको ‘कन्या पूजा’ केही वर्षदेखि जिल्लाभर फैलिँदो छ ।

विशेषगरी बनेपामा धुमधामकासाथ मनाउने गरिएकाे कन्या–पूजामा आठ हजारभन्दा बढी कन्या पुजिएका हुन् । पछिल्ला केही वर्षदेखि बनेपाको जनागाल, धनेश्वर, बुडोलमा कन्यालाई पुज्न थालिएकाे स्थानीय बताउँछन् । अन्य ठाउँका मुख्य बजार क्षेत्रमा रजस्वला नभएका (दश वर्षमुनिका कन्यालाई) पुज्ने गरिएकाे छ । रजस्वला नभएका तथा नेवार समुदायका बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भइ ‘मनले चिताएको’ पुग्ने मान्यता रहँदै आएको छ ।

पूजाका लागि मुख्य सडक तथा चोकमा दायाँबायाँ पेटीमा कन्यालाई लस्करै राखिन्छ । भक्तजनले पनि लस्करै दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन पनि छ । कन्या–पूजा वर्षौँपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ ।

प्राचीन सहर बनेपा, जहाँ एक सय २१ वर्ष अघिदेखि नै छोराभन्दा बढी छोरीलाई महत्त्व दिइने गरिएको पाइन्छ । सय वर्ष नाघेको ‘कन्या–पूजा’को परम्पराले ‘छोराछोरी’ बराबरीभन्ने सन्देश दिएकाे छ । तर अघिल्ला दुई वर्ष कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको कन्या–पूजालाई गएकाे वर्षदेखि पुनः निरन्तरता दिइएको छ ।

बनेपामा भने सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत पूजा सञ्चालन हुँदै आएको छ । स्वतःस्फूर्त गरिने यस कन्यापूजामा बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुने गर्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्याहरु लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पूज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पूज्नेको ठूलो भिड लाग्ने गर्छ ।

कन्यालाई पूज्न काठमाण्डौ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका समितिका अध्यक्ष रामगोपाल कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद वितरण गर्छन् । बनेपाको पूजामा काभ्रेपलाञ्चोकको अलावा छिमेकी सन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाण्डाैका  कन्याको पनि सहभागिता रहने गर्दछ । किंवदन्तीअनुसार रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुःख, शान्ति, समृद्धि छाउने जनविश्वाससमेत रहेको छ ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्यासमेत मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षशबाटमुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ । कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजाको व्यवस्थापनसमेत गरेका थिए ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखि उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा शुरुहुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए ।

शुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आए पनि केही समयपछि सबै जातजातिका कन्यालाईसमेत पुज्दै आएको हो । बनेपामै वर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर गरिने कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ । कृष्ण जन्माष्टमीको दुई दिनअघिअर्थात् सोमवार गरिएको पूजामा भने बर्सेनि करिब एक हजार पाँच सय कन्या पुजिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर