



झापा : दीपावली अर्थात् तिहार आउन दुई महिना बाँकी हुने समयदेखि नै झापाका सीमा नाकाबाट प्रतिबन्धित बारुदजन्य पटाका भित्रिने थालिसकेको छ।
सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगानबाट बिहीबार साढे ८ बजेको समयमा ठूलो परिमाणको पटाका बरामद गरेसँगै तस्करी समूह अहिलेदेखि नै पटाका भित्र्याउन लागि परेको पाइएको हो।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डाँगाबारीबाट खटिएका सशस्त्रको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको करिब ४ लाख ७० हजार मुल्य बराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए।

सो पटाका भारतीय नम्बर प्लेट बीआर ३७ जे ५२५७ नम्बरको मोटरसाइकलमा राखेर भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेका थिए। पटाकाहरूमा ८२ बन्डल खुर्सानी, २७ बन्डल रकेट, ११ बन्डल कलर सेट, ३८ बन्डल कलर रेन पटाका रहेको छ। बरामद गरिएको पटाकालाई नष्ट गरिएको छ भने नियन्त्रणमा लिएको मोटरसाइकललाई ८० हजार मूल्याङ्कन तोकेर भन्सार बुझाउने तयारी भइरहेको डीएसपी कटुवालले बताए।
जिल्लाका सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्रिँदै आएको पटाका पूर्वका विभिन्न जिल्लासहित काठमाडौंसम्म पुग्ने गरेको छ।