Aamsanchar

नृत्य प्रतियोगितामा तारापुञ्ज छोरीबुहारी महिला समूह बिजयी

Author Image
शनिवार, भदौ २३, २०८०

प्रतिकात्मक फायल तस्वीर । श्रोत गुगल

मेचीनगर । नारी कल्याणकारी विकास संस्थाले तीजको अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा तारापुञ्ज छोरीबुहारी महिला समूह बिजयी भएको छ ।
थोप्लेविरान सामुदायिक वनको कार्यालयमा शनिवार आयोजित कार्यक्रममा मेचीनगर भित्रका विभिन्न संघसंस्था सहभागी थिए ।
प्रतियोगीहरूले तीजका गीत र सङ्गिनी नृत्य प्रस्तुत गरेका थिए । असल संस्कृतिको सम्वर्द्धन, सामाजिक मूल्य मान्यताको संरक्षण र महिलाहरूको क्षमतालाई उजागर गर्ने उद्देश्यले अन्तरसंस्था नृत्य प्रतियोगिता आयोजना गरिएको संस्थाकी अध्यक्ष जानुका ओलीले बताउनुभयो ।

प्रतियोगितामा सुनगाभा महिला विकास संस्था दोस्रो, सञ्जीवनी महिला विकास संस्था तेस्रो, आयोजक संस्था नारी कल्याणकारी र समाज सुधार महिला विकास संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
सोही अवसरमा आयोजक संस्थाले तीन जना अग्रणी महिलालाई समाज परिवर्तनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा असल सासु गीता तिम्सिना, असल बुहारी शान्ता श्रेष्ठ र एकल महिला खिनमाया सुवेदी रहनु भएको छ ।

उहाँहरूलाई कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश सांसद सविना बजगाईँले ढाकाको दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको छ । सांसद बजगाईँले महिलाहरूको नेतृत्वलाई स्थापित गराउन सक्रिय महिला समूहको भूमिका ठूलो हुने बताउनुभयो ।

उहाँले तीजमा संस्थाहरूले सामाजिक क्षेत्रमा योगदान गरेका महिलाको पहिचान गरेर सम्मान गर्ने अभ्यासको सुरुवात गरेकोमा नारी कल्याणकारी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  वडा नम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङले तीज पर्वले सबै जातजाति धर्म संस्कृतिलाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले हिन्दु नारीहरूको महान चाड हरितालिका तीजले सबैलाई एकीकृत गर्दै सामाजिक सद्भाव
कायम गर्न सामाजमा ठूलो सहयोग पुगेको बताउनुभयो ।

नृत्य प्रतियोगिताको निर्णायक मण्डलको भूमिकामा इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, विपन्न जनहित कोषकी कोषाध्यक्ष लीना भण्डारी र पत्रकार अम्बिका भण्डारी रहेका थिए । जनप्रतिनिधिहरू सुष्मा कार्की र करुणा दनुवार, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, समाज सुधार महिला समूहकी अध्यक्ष संगीता थापा, थोप्लेविरान सामुदायिक वनका अध्यक्ष कृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।

संस्थाले मेचीनगर–१० मा निर्माणाधीन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको तपस्या भवनलाई सहयोग स्वरुप पाँच हजार एक सय रुपैयाँ प्रदान गरेको छ । संस्थाकी सचिव लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ओलीले ओमशान्तिकी दिदी रञ्जना दिदीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । महिलाहरूले आफूले मासिक रुपमा घर खर्च कटाएर जम्मा गरेको बचत रकमबाट नै ओमशान्तिलाई सहयोग गरेको अध्यक्ष ओलीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर
गोकर्णेश्वरमा भक्तजनको भिड
बिहिवार, भदौ २८, २०८०
आज बुवाको मुख हेर्ने दिन
बुधवार, भदौ २७, २०८०
पञ्चदान पर्व  मनाइयाे
मङ्गलवार, भदौ २६, २०८०