Aamsanchar

भद्रपुरमा गाई गोरुको मासु खाएको  घटनाप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण

Author Image
सोमवार, भदौ २५, २०८०

झापा – भद्रपुरमा गाई गोरुको मासु खाएको  घटनाप्रति भद्रपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार दिउँसो भद्रपुर– ४ रंगेझोडास्थित देउनियाँ खोलाको डिल नजिकै एउटा समूहले गाई गोरुको मासु पकाएर सामूहिक भोज खादै गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो ।

नगरपालिका नगर प्रमुख गणेश पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानुनविपरीतका विचार र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा नराखिदिन सार्वजनिक रुपमा अपिल समेत गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, केही दिन अघि भद्रपुर नगरपालिका क्षेत्रमा गाई, गोरुको मासु खाने विषयसँग सम्बन्धित रहेर विभिन्न व्यक्तिहरूबाट सामाजिक सद्भाव र सहिष्णुता भड्काउने किसिमका विचार र अभिव्यक्तिहरू सहितका सामाग्रीहरू सामाजिक सञ्जालमा राखिएको सन्दर्भमा नगरपालिकाको गम्भीर भएको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु नहुने कानुनी व्यवस्था रहेको सबैमा विदितै छ । अतः यस किसिमका गतिविधिहरू सञ्चालन गरी सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानुनविपरीतका विचार र अभिव्यक्तिहरू सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट व्यक्त नगर्न नगराउन सम्बन्धित सबैमा अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २८९ मा गाईगोरु मार्न या कुट्न नहुने उल्लेख गरेको छ । सोही दफाको उपदफा २ मा गाईगोरु मार्नलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पुराएमा ५० हजार रुपैयाँ सम्म जरिबाना हुने उपदफा ३ मा प्रस्ट भनिएको छ ।

गोरुको मासु खाई सांस्कृतिक क्रान्ति गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो अपलोड गरिएको थियो । पाँच जिल्लामा एकै समय सांस्कृतिक क्रान्ति गरेको सन्देश भिडियोमा बोलेका थिए । सो भिडियो बिकिन काम्बाङ नाम गरेको फेसबुक एकाउन्टबाट बाहिरिएको थियो । सो भिडियो भाइरल भएलगतै झापाका प्रहरी, प्रशासनको समेत ध्यानाकर्षण भएको थियो । प्रहरी टोली आइतबार बिहानै भोज खाएको घटनास्थल पुगेर थप छानबिन गरेको बताइएको छ ।  सो भिडियोबारे थप अनुसन्धान गर्न साइवर ब्युरोमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर