



काठमाडौं – नवलपुरमा विगत ६ दिनदेखि आतंक मच्चाएका दुईवटा बाघलाई नियन्त्रणमा लिइएको छ ।
नवलपुरको मध्यविन्दु २ नन्दपुर, सेहरी, सीतापुर, पनौती, लुस्लहरीलगायतका क्षेत्रमा विगत ६ दिनदेखि आतंक मच्चाइरहेका दुईवटा बाघलाई मंगलबार र बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।
ती क्षेत्रमा दैनिकजसो राति प्रवेश गरेर बाघले गाई, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरमाथि आक्रमण जारी राखेको थियो । लगातार बाघको आतंकबाट त्रसित स्थानीयले राति प्रशासन गुहारेर बाघलाई नियन्त्रणमा लिन सफल भएका हुन् ।

एउटा बाघ मंगलबार बिहान र अर्को बुधबार बिहानीपख नियन्त्रणमा लिइएको स्थानीयले जानकारी गराएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोली, नेपाली सेना, मध्यवर्ती, समुदायमा आधारित वन्यजन्तु चोरी शिकारी नियन्त्रण युवा जागरण इकाइ, पश्चिम सेक्टर प्रशासनलगायतको टोली खटिएर बाघ नियन्त्रणमा लिइएको थियो ।
इकाइ अध्यक्ष हुमबहादुर थनेतका अनुसार बुधबार बिहानीपख डार्ट गरेर नियन्त्रणमा लिइएको भाले बाघ निकै ठूलो थियो ।
हामीले हिजो पनि एउटा र आज बिहानीपख अर्को बाघ समातेका हौँ,” उनले बाह्रखरीसँग टेलिफोनमा कुरा गर्दै भने, “आज समातेको बाघ १३ जनाले बोकेका हौँ । दुईवटा हात्ती बाघको अगाडि जान पनि डराएका थिए ।”
उनका अनुसार यो बाघ सात वर्षको थियो । अहिले भालेपोथी संसर्गको समय भएकाले गाउँमा बाघको त्रास फैलिएको हो ।
नारायणी पारिबाट भाले र पोथी बाघ गाउँमा पसेको देखिन्छ ।