भोजपुर – भोजपुरमा कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन्। सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन्।
बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो। छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका छन्।
ठेकेदार राम पौडलेले काममा लापारबाही गरेको स्थानीयको भनाइ छ। स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन्।
कालोपत्र भएको सडक भत्किएर आवतजावतमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उनको भनाइ छ।
“स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, प्रजिअ घिमिरेले भने, “सडक कालोपत्र भएको छोटो समयमा नै भत्किएको अवस्था छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु।”
सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटकरपटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ। सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भोजपुर नगरपालिका–५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए।
यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित साढे १० करोडमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक विरबहादुर रावलले जानकारी दिए। यो सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ।
सडकलाई तत्काल मर्मत गर्नका लागि पत्रचार गर्ने उनले बताए। सडकमा बिच्छ्याइएको सव-बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ। समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन बन्ने गरेको स्थानीयको भनाइ छ।