Aamsanchar

हुम्लामा खाद्य व्यवस्था कार्यालयले बिक्री गरेकाे चामल कुहिएकाे फेला

Author Image
शुक्रवार, असोज १२, २०८०

हुम्ला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाण्डौबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सामा चामल ढुवानी गरेको थियो ।

नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदानको चामल कुहिएको भेटिएको बताउनुभयो । एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो । उहाँले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताउनुभयो । उहाँले आफ्नो मात्र नभई धेरैजसो चामल पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताउनुभयो ।

२५ किलोको बोरा चामलको मूल्य दुई हजार तीन सय ७५ रुपैयाँमा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जङ्ग लामाले बताउनुभयो । ‘पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ’, उहाँले भन्नुभयो ।

झन्डै ५० घरधुरीका नागरिकले चामल खरिद गरेकोमा धेरैजसो बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ । मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ ।

हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । काठमाण्डौ–केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट चार हजार क्विन्टल चामल ढुवानी भएको थियो । त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो ।

यस्तै तीन हजार क्विन्टल चामल सिमकोट शाखामा आएको प्रमुख अधिकारीले बताउनुभयो । उहाँले कुहिएको चामल फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताउनुभयो । चामल कुहिएको भए पैसा फिर्ता दिने पनि उहाँले बताउनुभयो । कुहिएको चामल भने राम्रोसँग राख्न उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर