Aamsanchar

आचार्य श्रीनिवास प्रहरीको नियन्त्रणमा

Author Image
मङ्गलवार, असोज १६, २०८०

विराटनगर – धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिने आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीले आज (मंगलबार) साँझ उनलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो।

आचार्य श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए।

गाई काटेर खानेलाई काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।

श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर सुनसरी प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए। अनुसन्धानपछि मात्र अरु विषयमा भन्न सकिने प्रहरीले जनाएको छ।

हिन्दु समुदायलाई भड्काएर हिन्दुराष्ट्रको लागि आन्दोलनमा सहभागी गराउन २०७४ चैतमा आफैंमाथि गोली हानेका उनले आफूमाथि हिन्दुविरोधीबाट आक्रमण भएको प्रचार गरेका थिए।

तर प्रहरीले अनुसन्धान गर्दा उनले आफैँ बन्दुक किनेर सहयोगीलाई आफ्नो पाखुरामा गोली हान्न लगाएको पुष्टि भएको थियो। २०७५ वैशाख २४ मा आफैँलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपमा श्रीनिवास पक्राउ परेका थिए।

घटना उनकै योजनामा भएको पनि प्रहरीले खुलासा गरेको थियो। उनलाई उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीले गोली हानेका थिए। सो मुद्दामा जेल चलान भएका श्रीनिवास पछि धरौटीमा छुटेका थिए।

श्रीनिवासलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको थियो। आफैँमाथि गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ ९क० बमोजिम पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङले पूर्पक्षको लागि थुनामा पठाएपछि उनले पुनरावेदन हालेका थिए। जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी सुनसरीको झुम्का कारागारबाट २० दिनपछि रिहा भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर