




विराटनगर – ग्याङ फाइट गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। विराटनगर– ९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
१५ जनाको समूहलाई मोरङ प्रहरीले आज (शुक्रबार) दिउँसो तरबारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए।
उनका अनुसार ग्याङ फाइट गर्न हिँडेको सूचना प्राप्त भएपछि तत्कालै घटनास्थलमा टोली खटाएकाले ठूलो घटना टरेको हो। युवतीको विषयलाई लिएर ग्याङ फाइट गर्न हिँडेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने मोरङ र सुनसरीका रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कटहरी ४ का १८ वर्षीय शेषकवि अलि, सुनसरी बर्जू गाउँपालिकाको विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जना रहेका छन्।
पक्राउ परेका अन्य १२ जना नाबालक रहेकोले प्रहरीले अन्यको नाम गोप्य राखेको छ। पक्राउ परेका अलिको साथबाट प्रहरीले तरवाल फेला पारेको छ। भने, उनीहरूको साथबाट प्रहरीले खुँडा, लाडी र नखल लगायतका हातहतियार बरामद गरेको छ। पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेका थिए।
‘ग्याङ फाइट गर्न हिँडेको भन्ने सूचना प्रहरीले बेलैमा जानकारी पायो। मोरङ प्रहरीबाट टोली परिचालन भयो र उनीहरूको साथबाट हातहतियारसहित पक्राउ गर्न सफल भयो। उनले भने,‘समयमा नै सूचना पाएकाले ठूलो दुर्घटना प्रहरीले रोक्न सफल भएको छ,’
पक्राउ परेका १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए।