विराटनगर – पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ।
तीव्र गतिका कारण दुर्घटना बढेको निष्कर्ष निकाल्दै ट्राफिक प्रहरीले लोकमार्ग तथा भित्री सडकखण्डमा विशेष उपकरणको प्रयोग गरेर निगरानी बढाएको हो। सवारीको गति मापन गर्ने यन्त्र ‘राडार गन’को प्रयोग गरेर तीव्र गति नियन्त्रणको प्रयास थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए। उनका अनुसार तीव्र गतिका कारण बढेको दुर्घटना न्यूनीकरण गर्न अत्याधुनिक ‘राडार गन’ प्रयोगमा ल्याइएको हो।
यसमार्फत सवारीसाधनको गति मापन हुने र सवारी चालकलाई गति कम गर्न आग्रह गर्ने गरिएको न्यौपाने बताउँछन्। उनले तीव्र गतिमा सवारी चलाउने चालकलाई ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाहीसमेत गर्न थालिएको जानकारी दिए। ट्राफिक प्रहरीले मापसे ९मादक पदार्थ सेवन० र लापसे ९लागू पदार्थ सेवन० परीक्षणलाई निरन्तरता दिइरहेको छ। ‘ब्रेथलाइजर मेसिन’को प्रयोगमार्फत मापसे र विशेष किटमार्फत लापसे परीक्षण गरिन्छ।
मापसे र लापसे गरेर सवारीसाधन चलाउँदा दुर्घटना बढेको थियो। ट्राफिकले चेकजाँच बढाएपछि मापसे र लापसेका कारण हुने दुर्घटनामा कमी आएको न्यौपानेले बताए। ‘पछिल्लो समय दुर्घटनाको मुख्य कारण नै तीव्र गति तथा चालकको लापरबाही हो,’ उनले भने, ‘सवारीसाधनको अत्यधिक गति नियन्त्रण गर्न ‘राडार गन’को प्रयोग गरेर गति मापन गर्न थालिएको छ।’ साथै, दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको छ।
सवारी दुर्घटना हुनुभन्दा अघि नै चालकलाई सचेत गराउने उद्देश्यले चालक लक्षित चेतनामूलक कार्यक्रमका साथमा विशेष यन्त्रको प्रयोग गरेर सडकमा निगरानी बढाइएको न्यौपाने बताउँछन्। उनका अनुसार यसलाई अभियानकै रूपमा अघि बढाइएको छ। ‘राडार गन’ले ३ सय मिटर वरपर गुडिरहेका सवारीको गतिका बारेमा संकेत दिने उनको भनाइ छ।
‘तीव्र गतिमा रहेको सवारीसाधनको नम्बरसहितको फोटो ‘राडार गन’ले खिच्छ,’ उनले भने, ‘फोटो खिच्नलाई तीव्र गतिको सवारीसाधन १ सय मिटरको दूरीमा आइपुगेको हुनुपर्छ।’
मेसिनले सवारीको तीव्र गति पत्ता लगाएपछि चालकलाई सम्झाइबुझाइ गर्ने र गल्ती दोहोर्याउनेलाई कारबाहीको दायरामा ल्याउने गरिएको जानकारी न्यौपानेले दिए। उनका अनुसार नजिकिँदो चाडपर्वलाई लक्षित गरेर ट्राफिक चेकजाँच तीव्र पारिएको छ।