




काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले दसैँको समयावधिमा जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला समन्वय प्रमुख, सुरक्षा निकाय, टिपर तथा यातायात व्यवसायीको बुधबार बसेको बैठकले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
दसैँको टिकाको दिन नजिकिएसँगै सवारी साधनको बाक्लो आवतजावत हुने र ट्राफिक व्यवस्थापन गर्न जटिलता उत्पन्न भई यात्रा सहजीकरण गर्न दबाब पर्ने भएकोले बिहीबार बिहान ५ बजेदेखि असोज १३ गते रातिसम्म अरनिको राजमार्ग र बिपी राजमार्गमा टिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।

बैठकले विभिन्न बहानामा लामो दूरीका नियमित भाडाका सवारी साधनले यात्रुसँग बढी पैसा असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि यातायात व्यवसायीले सघाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
उहाँले सवारी चालकहरूलाई यात्रुसँग उचित र अनुशासित व्यवहार गर्ने सम्बन्धमा सचेत गराउने, सुरक्षित यात्राको लागि राजमार्ग÷सहायक मार्गमा प्रहरी चेकजाँचलाई प्रभावकारी बनाउन यातायात व्यवसायीले सुरक्षा निकायलाई सघाउने साथै प्रचलित भाडादर सबैले देख्ने गरी टाँस गर्ने निर्णय भएको बताउनुभयो ।
यसैगरी, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग, गर्भवती महिलाप्रति थप संवेदनशील भई सुरक्षित यात्राको लागि सहजीकरण गर्ने व्यवस्था मिलाउने, सवारी साधनको यान्त्रिक चेकजाँच नियमित गर्न यातायात व्यवसायीले सघाउने निर्णय गरेको छ । बैठकले यातायात व्यवस्थापनलाई सहज बनाउन ट्राफिक व्यवस्थापनका लागि प्रचलित रुट हेरफेर वा परिवर्तन भएमा सोही बमोजिम पालना गर्न व्यवसायीले सघाउने, गाडीको तीव्र गति सीमित तथा सडक लेन अनुशासन पालना गराउने, प्रेसरहर्न निषेधित गर्ने र सवारी चेकजाँचलाई तीव्र बनाउन जिल्ला प्रहरी कार्यालयले आवश्यक व्यवस्था मिलाउने जनाइएको छ ।
व्यवसायीको समन्वयमा ट्राफिक कार्यालयले टिपर तथा सार्वजनिक यातायातका चालकहरूलाई सचेतना कक्षा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।