




घोराही- दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका –५ झेलखोला भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा सोही ठाउँ निवासी ५५ बर्षीया बिबा बुढामगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिनुभयो ।
प्रहरी सहायक निरीक्षक योगीका अनुसार दुर्घटनामा बंगलाचुली गाउँपालिका –५ झेलखोल निवासी एकै परिवारका ३६ बर्षीय मतिराम बुढा, ३० बर्षीय ऋखिराम बुढा, ४० बर्षीय मानबहादुर बुढा र २६ बर्षीय हिरा बुढा घाइते हुनुभएको छ । घाइतेको घोराहीस्थीत राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

झेलखोल गाउँबाट बंगलाचुली गाउँपालिका मुर्कुटी बजारतर्फ आउँदैगर्दा दिउँसो अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अटो सडकबाट तल खसेको प्रहरीले जनाएको छ । अटोचालक प्युठान माण्डवी गाउँपालिका –२ वडार निवासी ४० बर्षीय गेमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।