




काठमाडौँ – गैर आवासीय नेपाली संघ औपचारिक रूपमा फुटेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेपछि एनआरएनए औपचारिक रूपमा फुटेको हो ।यसअघि अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । जसलाई अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले अस्वीकार गरेका थिए ।
केसीले अध्यक्षको शपथ र कार्यभार ग्रहण गरेपछि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
शर्मा अध्यक्ष रहेको एनआरएनए कार्यसमिति उपाध्यक्षमा केशव पौडेल, राज रेग्मी, खगेन्द्र न्यौपाने, सुनिल शाह, नारायण आचार्य, गोविन्द श्रेष्ठ र गंगाधर गौतम रहेका छन् । उपाध्यक्षमा महिलातर्फ रोजिना प्रधान राई तथा युवा उपाध्यक्षमा अबदुल वासिदलाई चयन गरिएको छ ।महासचिव बुद्धिसागर सुवेदीलाई बनाइएको छ भने तीन उपमहासचिवमा प्रविन गुरुण, सोम सापकोटा र प्रमोद सिटौला रहेका छन् । सचिवमा लोक दाहाल, कृष्ण गिरी, टंक गैरे, लोक दाहाल, केपी सिटौला, दयानिधी सापकोटा, मनोज गोर्खाली, स्वतन्त्रप्रताप सिंह, राजेन्द्र पुडासैनी र भीम केसीरहेका छन् । महिला सचिवको जिम्मेवारी विमला सापकोटाले पाएकी छन् ।
शर्मा नेतृत्वको एनआरएनएको कोषाध्यक्षमा ठाकुर ढुंगाना र सहकोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा र तृष्णा शर्मा रहेका छन् ।
महासिचव सुवेदीले एनआरएनएको ११ औँ महाधिवेशन असहज परिस्थितिमा सम्पन्न भएको जनाएका छन् । उनले अनलाइन भोटिङमा गम्भीर त्रुटि देखिएको र छानबिन गर्ने सहमति गरेर बद्री केसीले शपथ लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
´अनलाइन भोटिङ पद्धतिमा देखिएका गम्भीर त्रुटिबारे छानबिन गर्ने सहमति गरेर गुपचुप शपथ लिने प्रवृत्तिले संस्थालाई विभाजनको मुखमा धकेलेको थियो,` सुवेदीले सामाजिक संजाल फेसबुकमा विभाजनबाट गठित नयाँ कार्यसमितिबारे लेखेका छन्, ´महाधिवेशनमा सहभागी बहुसंख्यक प्रतिनिधिहरूले विधानका केही प्रावधान संशोधन गर्नुका साथै आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुभएको छ ।` जसरी भए पनि संस्था कब्जा गर्न खोज्ने प्रवृत्तिविरुद्ध एकजुट हुन र संस्थाको मर्यादा जोगाउनका लागि क्रियाशील रहन महासचिव सुवेदीले आग्रह गरेका छन् ।
यसअघि नै अध्यक्षका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले धाँदलीबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्न नसकिने पनि घोषणा गरेका थिए । अध्यक्षका उम्मेदवार शर्माले आईटी विज्ञ राखेर अनुसन्धान गर्ने सहमति केसीले उलंघन गरेको बताएका थिए ।
काठमाडौंमा भएको महाधिवेशनमा अध्यक्षका तीन उम्मेदवार थिए । विजयी केसीले १ हजार ३७८ मत पाएका थिए । प्रत्याशीद्वय शर्माले १ हजार २८१ मत र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका थिए । विजयी घोषित केसीले शनिबार शपथ र पदभार ग्रहण गरेका थिए ।
उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट एक मत पनि नआएपछि गणनाका क्रममा विवाद भएको थियो । आफूले हालेको भोट समेत विद्युतीय भोटिङ मेसिनमा नदेखिएको उनले बताएका थिए । एनआरएनको चुनाव विद्युतीय भोटिङ मेसिन ´भेरो भोटिङ` मार्तफ भएको थियो ।