




ओखलढुंगा – ओखलढुंगाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार साँझ ५ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।
मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाकोठामा जलेर मृत्यु भएको हो। मृतकले चुल्होमा डिजेलरपेट्रोल प्रयोग गरी आगो बाल्ने क्रमममा अचानक आगलागी गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए।

भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको थियो। आगो निभाउने क्रममा मृतककी देउरानी २७ वर्षीया जानुका गौतम आगो निभाउने क्रममा बायाँ खुट्टाको केही भाग जलेको छ। घाइतेको उपचार उदयपुरस्थित जनसेवा हेल्थ केयर घुर्मिमा भइरहेको छ।
आगलागीबाट भडावर्तन, अन्न पात, काठपातसमेत गरी १ लाख बराबरको क्षति भएको, मृतक कमला दाहाल गौतमको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ। पेट्रोलियम पदार्थ भान्सामा प्रयोग गर्दा दुर्घटना भएको भन्दै प्रहरीले प्रज्वलनशील पदार्थ भान्छामा नराख्न आग्रह गरेको छ।