Aamsanchar

सडकमार्गबाट एकै हप्तामा झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु भित्रिए

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

सोलुखुम्बु – सडकमार्गबाट मात्रै एकै हप्तामा झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु भित्रिएका छन् । पछिल्लो एक हप्तामा गाडीमार्फत् २ सय ४३ जना पुरुष र १ सय ८ जना महिला गरी ३ सय ५१ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका ट्राफिक प्रहरी पोष्ट पत्तालेले जनाएको छ ।

यो अवधिमा ५६ जना महिला र ६१ जना पुरुष गरी ११७ जना विदेशी पर्यटक स्थलमार्गको प्रयोग गरी बाहिरिएका छन् । पर्यटकीय सिजन भएकाले विदेशीहरु काठमाण्डौबाट स्थलमार्गमार्फत सल्लेरी हुँदै सगरमाथा क्षेत्र जाने क्रम बढिरहेको ट्राफिक प्रहरी जीवन बस्नेतले जानकारी दिनुभयो । कतिपय पर्यटकहरु गाडी नै रिजर्भ गरेर आउने गरेको उहाँको भनाइ छ ।

सल्लेरीबाट थामडाँडासम्म गाडी सञ्चालन भएसँगै काठमाण्डौबाट स्थलमार्ग हुँदै सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशीको सङ्ख्या बढिरहेका छन् ।

काठमाण्डौबाट खुम्बु आउने पर्यटकहरुका लागि रामेछापको मन्थलीबाट लुक्ला उडान भइरहेका छन् । तर काठमाण्डौबाट मन्थली र त्यहाँबाट लुक्ला जान झन्झट हुने भन्दै कतिपय पर्यटकहरु सडकमार्गको प्रयोग गर्न रुचाउन थालेका छन् । मन्थलीबाट समयमा उडान नहुने र त्यहाँ उपयुक्त खान बस्नको समेत व्यवस्था नहुँदा पर्यटकहरुलाई सास्ती हुने गरेको व्यवसायीहरु बताउँछन् ।

काठमाण्डौबाट गाडीमा आउने पर्यटकहरु एकैदिनमा सल्लेरी पुग्छन् । त्यो दिन सल्लेरी तथा फाप्लुमा बास बसेर भोलिपल्ट त्यहाँबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका(१ को थामडाँडासम्म जीपमा जाने गरेका छन्।

थामडाँडाबाट केही घण्टाको पदयात्रा पश्चात लुक्ला पुगेर बास बस्ने गरेको यातायात व्यवसायी रामबहादुर विश्वकर्माले बताउनुभयो । खुम्बु जाने विदेशीको सङ्ख्या बढेसँगै सल्लेरी–थामडाँडा चल्ने गाडीको सङ्ख्या बढेको उहाँको भनाइ छ ।

सल्लेरीबाट थामडाँडासम्मको सडक कच्ची रहेकाले जीप मात्रै सञ्चालन हुने गरेको छ । यद्यपि सल्लेरीबाट खुम्बु जाने सडक कालोपत्रेको काम भने भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर