Aamsanchar

सेनाद्वारा बेनीमा नवनिर्मित हेलिप्याड स्थानीय पालिकालाई हस्तान्तरण

Author Image
सोमवार, मंसिर २५, २०८०

म्याग्दी – नागरिक–सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा नवनिर्मित हेलिप्याड स्थानीय पालिकालाई हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको पौलस्त्य पुलहाश्रम क्षेत्रमा नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको दक्ष जनशक्ति तथा प्राविधिकको सहयोगमा बनाइएको हेलिप्याड म्याग्दीको बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ । नागरिक र सैनिकबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन र विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले हेलिप्याड बनाइएको छ ।

नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको ‘एक आर्थिक वर्ष, एक युनिट, जोडी हेलिप्याड निर्माण’ कार्ययोजना अन्तर्गत नागरिकमैत्री हेलिप्याड बनाइएको नेपाली सेनाले जनाएको छ । हेलिप्याड निर्माणकार्यमा बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरले आर्थिक व्यवस्थापन गरेका थिएभने नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीबाट दक्ष जनशक्तिसहित प्राविधिक सहयोग उपलब्ध भएको थियो ।

नवनिर्मित हेलिप्याडको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपककुमार बानियाँ र म्याग्दीको बेनी नगरपालिकाका मेयर सुरत केसीले हिजो आइतवार एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

समुद्री सतहदेखि १७ सय १० मिटरको उचाइमा निर्माण गरिएको हेलिप्याडको डायमिटर (लम्बाइ र चौडाई) ४० फिट रहेको छ । हेलिप्याडमा साना, मझौला र एमआई सेभेन्टिनलगायत हेलिकप्टरहरु सजिलै अवतरण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । नवनिर्मित हेलिप्याडबाट पौलस्त्य पुलहाश्रमको भ्रमण तथा दर्शन गर्न आउने पर्यटकहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर