दाङ – खरको छानामुक्त अभियान अन्तर्गत लमहीमा २ सय २० घरमा टिनको छाना लगाइएको छ ।
नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा दाङको लमही नगरपालिकाबाट सञ्चालित खरको छानामुक्त अभियान अन्तर्गत लमही नगरपालिका भित्र दुई सय २० वटा घरमा टिनको छाना लगाइएको हो ।
तीन वर्षको अवधिमा २ सय २० वटा घरमा टिनको छाना लगाउने कार्य सम्पन्न भएको लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेलले जानकारी दिनु भयो ।
‘वडा नम्बर १ देखि ९ सम्म १ हजार घरमा छाना लगाउनु पर्ने छ, जसमध्ये २ सय २० घरमा टिन लगाएर सकिएको छ भने ७ सय ८० घरमा टिन लगाउने कार्य भैरहेको छ,’ शाखा प्रमुख पोख्रेलले भन्नुभयो ‘टिन लगाउन बाँकी रहेका घरमा काम के कति भैरहेको छ भनेर हामीले निरन्तर अनुगमन र छिटो काम सम्पन्न गर्न भनिरहेका छौँ ।
सरकारले विपन्न, असहाय र सीमान्तकृत समुदायहरूको पहिचान गरी उनीहरुको घरमा टिनको छाना लगाएर खरको छानालाई विस्थापित गर्ने लक्ष्य लिएको छ । त्यसै अनुसार नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिका भित्र बसोबास गर्ने विपन्न, असहाय र सीमान्तकृत समुदायहरूको घरमा खरको छाना हटाएर टिनको छाना लगाउने काम भैरहेको हो ।
गएको तीन वर्षमा नेपाल सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रतिघरका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । चालु आव २०८०/८१ बाट भने प्रतिघर ७५ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।