काठमाडौं – रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। फारम भर्ने अन्तिम दिन गएराति १२ बजेसम्म १ लाख ४३ हजार ८१२ जनाले आवादेन दिएको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।
यो संख्या सन् २००८ मा नेपालले इपिएसमार्फत दक्षिण कोरियामा कामदार पठाउन थालेयताकै उच्च हो। परीक्षा दिने समयसम्म आइपुग्दा यो संख्या १ लाख ७० हजारभन्दा माथि पुग्ने आंकलन गरिएको छ।
गत साउनमा पानीजहाज निर्माण ९सीप बिल्डिङ० सम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो।
त्यसबेला अनुत्तीर्ण भएका १८ जना यो निर्णयविरुद्ध उच्च अदालत गएका थिए। अदालतले सो समयमा अनुत्तीर्ण भएकाहरूलाई समेत यसपटकको भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ।
अब उनीहरूका लागि पछि छुट्टै समय तोकेर आवेदन खुला गरिने निर्देशक सुवेदीले बताए। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालका लागि अन्य मुलुकभन्दा बढी कोटा निर्धारण गरेकाले पनि आकर्षण बढेको आंकलन गरिएको छ।
उत्पादनमूलक क्षेत्रमा मात्रै १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि जान पाउनेछन्। यद्यपि परीक्षाको मिति भने तय भइसकेको छैन। निर्देशक सुवेदीका अनुसार यससम्बन्धी तथ्यांक कोरिया पठाएपछि माघभित्रै परीक्षाबारे टुंगो लाग्नेछ।
यसपटक धेरै संख्यामा परीक्षार्थी हुने भएकाले परीक्षा सञ्चालमा समेत सकस हुनसक्ने शाखाले जनाएको छ। सामान्यतः दैनिक ८ सय जनाको मात्रै परीक्षा लिने गरिएको छ। यसै प्रकृयाबाट जाँदा परीक्षा लिनै सात महिनासम्म लाग्नेछ। यसपटक सिफ्ट थपेर भए पनि व्यवस्थापन गर्ने र यस्तै आकर्षण कायम रहे अर्को वर्षदेखि एकैदिन तीन हजारसम्मै परीक्षा दिन सक्नेगरी व्यवस्थापन मिलाउने तयारीमा आफूहरु लागिरहेको सुवेदीले जानकारी दिए।