Aamsanchar

कवाडी सामानको भारततर्फ तस्करी बढ्यो

Author Image
आइतवार, साउन २०, २०८१

कपिलवस्तु – कपिलवस्तुको शुद्धोधन गाउँपालिका क्षेत्रको नेपाल भारत सीमाबाट कवाडी सामानहरूको भारततर्फ तस्करी बढेको छ । कवाडी व्यवसायीहरूले पछिल्लो समय शुद्धोधन गाउँपालिका वडा नम्बर ५ को गनवरियामा कवाड सामग्रीहरू संकलन गरी राखेका छन् ।

कारोवारीहरूले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सेटिङ मिलाएर भारततर्फ निकासी गर्दै आएका छन् । शुद्धोधन गाउँपालिकाको गनवरिया गाउँनजिकै स्टक गरेको कवाड सामग्रीहरू ट्याक्टर, ठेला र मोटरसाइकलमा सीमा पार गरी भारतीय क्षेत्रसम्म पुर्‍याइने गरेको पाइएको छ।

काठमाडौं, पोखरा, नारायणगढलगायतका स्थानबाट ट्रकमा लोड गरेर यहाँ प्लाष्टिक र फलामजन्य कवाड वस्तुहरू ल्याइन्छ । यहाँ ल्याइएका कवाड सामग्रीहरूलाई बोरामा प्याक गरेर सीमा पार गर्न स्थानीय सर्वसाधारणलाई समेत मिलाइएको छ । नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल विओपी हथिहवा भने अवैध धन्दा भइरहे पनि मौन देखिएको छ ।

कवाड सामाग्री भारत तर्फ निकासी गर्ने ठेकेदार भारतीय नागरिकले भने आफूले सबैलाई मिलाएर काम गरिरहेको बताए । स्थानीय प्रहरी चौकी, सशस्त्र प्रहरीलगायत सबैलाई मासिकरुपमै केही रकम दिएर कारोवार सञ्चालन गरेको उनले दाबी गरे । मासिक के कति रकम कसलाई दिएको भनेर सञ्चारकर्मीहरूले सोध्दा उनले भने,´यसरी दिएको रकम म खोल्दिन,कसैको मान प्रतिष्ठा र गोप्यताको कुरा हुन्छ ।` तर सबैलाई खुशी गराएर काम गरेको छु,`उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल हथिहवा विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुधिर बहादुर खड्काले भने अवैध ढंगबाट कवाड भारत निकासी प्रकरणमा आफूहरूको संलग्नता नभएको दावी गरे । तर उनले यस्तो दावी गरे पनि यहाँबाट निरन्तररुपमा अवैध ढंगबाट ट्याक्टरमा लोड भएर यहाँ डम्पिङ गरिएको कवाड सीमा पार गरी भारततर्फ पुगिरहेको छ ।

भारतीय बजार धनगढवा नजिकै करिब ५ सय मिटर पश्चिम दक्षिण तर्फको एक बगैचामा लगेर कवाड संकलन गरी राखिएको छ । यसरी भारतीय बजार धनगढवा पुगेको कवाडलाई भारतीय व्यवसायीले कवाड प्रशोधन गरिने भारतीय उद्योगसम्म पुर्‍याउने गरेका छन् ।

नेपालका काठमाडौं,पोखरा,नारायणगढलगायतका स्थानबाट संकलन गरिएको कवाडलाई अवैधरुपमा भारतीय बजारसम्म पुर्‍याउने यो कार्यमा विशेष गरी भारतीय व्यवसायी संलग्न छन् । उनले नवलपरासीका कवाड व्यवसायी सुरज चमारको नाममा फर्म दर्ता गरेर नेपालतर्फ कवाड सामग्री संकलन र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ गनवरिया नजिक सीमा क्षेत्रसम्म ल्याउने गरेका छन् । नेपाली व्यवसायीको आडमा भारतीय व्यवसायीले सीमा क्षेत्रमा खटिएको प्रहरी प्रशासनलाई मिलाएर ठूलो धन्दा नै चलाएका छन् ।

नेपाल तर्फबाट अवैध ढंगबाट कवाड लोड गरेर सीमा पार गर्दै गरेको दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिइ भारतीय सीमा सुरक्षा वलको सीमा कार्यालय कक्रहवा बुझाएको सीमा क्षेत्रमा खटिएका एक एसएसवीका अधिकारीले बताए ।

केही दिन यता पानी परेका कारण सीमा क्षेत्रको बाटो हिलाम्य भएका कारण भने अहिले कारोवार केही दिनका लागि रोकिएको छ । यसबारे केही महिना पहिले आफूले जानकारी पाएको र यसलाई नियन्त्रणका लागि जिल्लास्तरीय बैठकमा आफूले कुरा उठाएको सुठौली भंसार कार्यालयका प्रमुख नारायण गैरेले बताए ।

हथिहवा छोटी भन्सार कार्यालय हाल सञ्चालन नआएका कारण सो क्षेत्रमा हुने यस प्रकारका अवैध गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूसँग समन्वय गरी काम भइरहेको सुठौली भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर