Aamsanchar

एक सय फिट अग्लो यलम्बरको सालिक निर्माणको काम फेरि सुरु

Author Image
बुधवार, साउन ३०, २०८१

खोटाङ – करोडौंको लगानीमा निर्माण सुरु गरी अलपत्र छाडिएको एक सय फिट अग्लो यलम्बरको सालिक निर्माणको काम फेरि सुरु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटोमा बनाउँदै गरिएको सालिक ‘स्ट्रक्चर डिजाइन’ उपलब्ध नगराएको भन्दै ठेकेदारले काम छोडेपछि निर्माणको काम अलपत्र परेको हो ।

कोशी प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत गरी ११ करोड ५८ लाख १६ हजार रुपैयाँको लागतमा सालिक निर्माण भइरहेको हो । २०७९ माघ मसान्तसम्म सक्ने गरी २०७९ असार २८ मा उमा–तुवाचुङ–अन्सुली जेभीले सालिक निर्माणको सम्झौता गरेको थियो । बेलामा काम नसकिँदा दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८१ असोजसम्मका लागि म्याद थप भएको छ ।

निर्माणमा सम्बद्ध सुनिल राईले नगरपालिकाले स्ट्रक्चर डिजाइन नदिँदा काममा ढिलाइ भएको बताए । ‘नगरपालिकाले डिजाइन नदिँदा ढिलो भएको हो, भर्खरै असार अन्तिममा डिजाइन प्राप्त भएको छ,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ, अब समयमै बन्छ ।’

पहिलेको डिजाइन राम्रो नभएकाले परिवर्तन गरिएको राईले बताए । पहिलेको डिजाइन अनुसार बनाउँदा मूर्तिको भारवहन गर्न नसक्ने भएकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने र यलम्बरको मूर्ति ऐतिहासिक पनि भएकाले गुणस्तरलाई ध्यानमा राखेर डिजाइन परिवर्तन गर्दा ढिलो भएको राईको भनाइ छ । ‘पहिलेको डिजाइनले भारवहन गर्न सक्दैन थियो, कुनै पनि बेला दुर्घटना हुन सक्थ्यो,’ राईले भने, ‘यलम्बरको मूर्तिजस्तो ऐतिहासिक कामको गुणस्तरलाई ध्यानमा राखेर डिजाइन परिवर्तन गरिएको हो ।’

मूर्तिको बाहिरी भाग लगभग सकिए पनि त्यसलाई थाम्ने भित्र राखिने स्ट्रक्चर डिजाइन परिवर्तन गर्नुपर्दा काममा ढिलाइ भएको उनले बताए । उक्त मूर्ति धुन याक्खाको टिमले बनाएको हो । यो सालिक जिल्लाकै अग्लो भएको नगरको दाबी छ ।

आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाबाट पार्क निर्माण सुरु भएको थियो । त्यतिखेर विनियोजित ७२ लाख रुपैयाँबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेस्टुरेन्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवनलगायतका भौतिक संरचना बनिसकेको छ । उक्त संरचना उपभोक्ता समितिमार्फत बनाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर