Aamsanchar

१ सय ३ मेगावाटको मध्यभोटेकोशी प्रसारणलाइन निर्माणमा सहमति

Author Image
बिहिवार, भदौ १३, २०८१

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय ३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माणलाई अगाडि बढाउने विषयमा सहमति जुटेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका मेयर बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच भएको छलफलमा सहमति जुटेको हो ।

बाह्रबिसे नगरपालिका–५ मा आयोजनाको विद्युत् गृहको स्विचयार्डबाट बाह्रबिसे नगरपालिका–३ प्राधिकरणको बाह्रबिसे सबस्टेशन जोड्ने झन्डै चार किलोमिटर प्रसारणलाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए । २२० केभी सिङ्गल सर्किट प्रसारणलाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर बाह्रबिसे नगरपालिका–३ र ४ का स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन । दुई किलोमिटरमा पर्ने प्रसारणलाइनको मार्गधिकार अर्थात् ुराइट अफ वेु मा एक सय २४ जना जग्गाधनीको जग्गा पर्छ ।

आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारणलाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । यसैगरी प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल शुरू गर्ने सहमति जुटेको छ ।

ऊर्जामन्त्री खड्काले निर्माण सम्पन्न मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारणलाइन निर्माणमा भइरहेको अवरोध खुलाउन महत्त्वपूर्ण सहमति भएको बताउनुभयो । मन्त्री खड्काले भएका सहमति सबै पक्षले इमानदारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको विद्युत् प्रवाहका लागि २२०/१३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको बताउनुभयो ।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू भएपछि बाह्रबिसे सबस्टेशनलाई चार्ज गरिनेछ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन शुरू गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो, अहिले सुरुङको मर्मत र सुधार सकिएको छ । आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन शुरू गर्ने लक्ष्यका साथ बाँकी कामहरू भइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर