Aamsanchar

यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ रोके, दशैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुल्ने

Author Image
बुधवार, असोज १६, २०८१

काठमाण्डौ – यातायात व्यवसायीहरूले दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ रोकेका छन् । गएको शुक्रवारदेखि भएको अत्यधिक वर्षाका कारण काठमाण्डौ उपत्यका जोडिने प्रमुख सडकहरू अवरुद्ध भएकाले अहिलेका लागि टिकट बुकिङ रोकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

यसअघि सरकार र व्यवसायीहरूको सहमतिमा असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्दै घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशभर रुट अनुमति खुला गरिएको थियो । तर पछिल्लो विपद्ले यसअघिको योजनाअनुसार काम गर्न नसक्ने भएकोले अग्रिम बुकिङ गर्ने काम रोकिएको सिटौलाले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासँग जोडिने मुख्य सडकमध्ये अरनिको राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन् । पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ–नारायणगढ, चन्द्रागिरि–चित्लाङ हुँदै हेटौँडा पुग्ने सडक खण्ड सञ्चालनमा रहे पनि जोखिम धेरै छ ।

बीपी राजमार्गमा मात्र अहिले झन्डै सात सय वटा गाडी अड्किएकोले ती गाडीलाई सहजै काठमाण्डौ ल्याउनु चुनौतीपूर्ण रहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग खुलाउन खुर्कोट र धुलिखेल गरी दुई ठाउँबाट खोला डाइभर्सन बनाउने काम भइरहे पनि त्यो दशैँअघि पूरा हुनेमा सुनिश्चितता नरहेको सडक विभागले जनाएको छ । टिकट काटेका यात्रुलाई गन्तव्यमा पुर्‍याउने र सडकको अवस्था हेरेर मात्रै थप निर्णय लिने व्यवसायीहरूले बताएका छन्

यसैबीच

नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैँमा रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै खुल्ने जनाएको छ ।

बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाण्डौसहित मुख्य सुगम विमानस्थल बिहान साढे ४ बजेदेखि नै खुला गर्न लागेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । यो नियम भोलि घटस्थापनादेखि पूर्णिमासम्म लागू हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्की, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ ।

अहिले आन्तरिक उडान बिहान ६ बजेदेखि राति २ बजेसम्म भइरहेको छ । यसअघि राति १० बजेसम्म मात्रै आन्तरिक उडान हुने गरेकोमा बाढी पहिरोका कारण आइतवारदेखि आन्तरिक उडान राति २ बजेसम्म भइरहेका हुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर