Aamsanchar

ईपीएसमा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड्नबाट रोकिए

Author Image
बिहिवार, मंसिर ६, २०८१

काठमाडौँ — रोजगार अनुमति प्रणाली(ईपीएस) मा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड्नबाट रोकिएका छन् । टिकट उपलब्ध गराउने जिम्मेवारी पाएको कोरियन एयरको जिएसए युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई टिकट उपलब्ध गराउन नसकेको हो । हवाई टिकट उपलब्ध गराउन नसक्दा श्रमिकहरूको हवाई उडान प्रभावित बन्दै आएको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठले श्रमिक उडाउने जिम्मेवारी पाएको युनिभर्सल टुर एण्ड ट्राभललाई छिटो पठाउन ताकेता गरिराखिएको बताए । ‘दसैं र तिहारको बीचमा एकैपटक धेरै जना श्रमिकको भिसा लागेर आएको हो । जसले गर्दा श्रमिकहरूको उडान प्रभावित बनेको हो,’ उनले भने, ‘नोभेम्बर महिनामा धेरै कम उडान भयो । डिसेम्बरमा ६५० जना श्रमिक उडाउने टिकट तालिका पाइसकेका छौं ।’

कोरिया जाने श्रमिकले ट्रान्जिट प्रयोग गर्न पाइँदैन । युनिभर्सलले एउटा टिकटको ८ सय ९५ डलर ९करिब १ लाख १९ हजार रुपैयाँ० मा श्रमिक उडाउने टेन्डर पाएको थियो । युनिभर्सलले हाल कोरिया जाने नियमित श्रमिकबाहेकलाई सरदर एकलाख ५० हजार रुपैयाँमा उपलब्ध टिकट बेचिरहेको छ । कोरियन एयरको हप्तामा सिओल–काठमाडौंको सिधा उडान तीन वटा छ । भिसा जारी भएको तीन महिनाभित्र श्रमिक कोरिया पुगिसक्नुपर्नेछ । ‘पछि समस्या नपरोस भनेर हामीले सम्बन्धित ठाउँमा ध्यानकर्षण जनाइसकेका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

गत साउन एकदेखि कार्तिक ३० गतेसम्म ३१ सय ७२ जना श्रमिक कोरिया उडिसकेका छन् । उत्पादन क्षेत्रमा ८ हजार एकसय ५१, कृषि क्षेत्रमा ८ हजार ५ सय, पानी जहाज निर्माण क्षेत्रमा चार हजार गरी २० हजार ६ सय ५१ जना रोष्टरको सूचीमा छन् । उनीहरूलाई रोजगारदाताले छनोट गर्न बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)