Aamsanchar

विराटनगरस्थित नोबेल मेडिकल कलेजले २ सय प्रतिशत लाभांश दिने

Author Image
शुक्रवार, मंसिर २१, २०८१

उर्लाबारी-  विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पब्लिक लिमिटेडले २ सय प्रतिशत लाभांश घोषणा गरेको छ । मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा सञ्चालक रहेको नोबेल अस्पताल एक वर्ष अघि मात्र पब्लिक लिमिटेडमा गएको हो । नोबेलको मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपियाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी भए यता यो नोबेलको प्रथम वार्षिक साधारणसभा हो । कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवा सञ्चालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गनुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने स्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी र अस्पताल,शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी,सोलार इनर्जी, पर्यटन उद्योग लगायतका) विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । त्यसो त डा. शर्माकै नेतृत्वमा नोबेलले सामाजिक उत्तरदायित्व अन्तर्गत लाखौं बिरामीलाई निःशुल्क स्वास्थ्य शिविरहरुमार्फत उपचार सेवा पुर्याइसकेको छ । डा.शर्माले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका हिमाल, पहाड, तराईका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरिसकेका छन् ।

यो क्रम हालसम्म निरन्तररुपमा चलिरहेको छ भने त्यस्ता शिविरमा जाँच गराई थप उपचार गर्न आर्थिकरुपमा असमर्थ वबिरामीहरुलाई नोबेल वा काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्थासमेत गरिदिंदै आएका छन् । अस्पतालमा उपचारका लागि आएका अतिविपन्न बिरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने, विपन्न बिरामीहरुलाई सहुलियतमा उपचार पुर्‍यउने कार्य गर्दै आएको छ । विगत १७ वर्षदेखि नोबेलले ओ‍‍‍‍ पी डी दर्ता र चिकित्सक परामर्श सेवा निःशुल्क गरेको छ ।

नोबेलले २०८१ सालको दशैं र तिहारको बीचमा नोबेलमा कार्यरत चिकित्सक, शिक्षक र अन्य कर्मचारी गरी ६० जनालाई ६ दिनको दुबई भ्रमणसमेत गराएको थियो । यसअघि पनि प्रशासन, लेखा शाखाका २० जना कर्मचारीलाई थाइल्याण्ड भ्रमणको व्यवस्था गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर